एनआरएनए मलेसियामा सर्वसहमत कार्यसमिति बनाउने प्रयास, दुई पदमा सहमति जुटेन

क्वालालम्पुर । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) मलेसियामा सहमतिमा नयाँ कार्यसमिति चयन गर्ने प्रयास गरिएको छ ।
अन्तिम समयमा सहमतिमा नयाँ कार्यसमिति गठन गर्ने प्रयास भएको वर्तमान अध्यक्ष हरि प्रसाद भट्टराईले प्रवास खबरलाई जानकारी दिए । ‘मिलेर जाने कुरा आएपछि म अन्तिम समयमा पछाडि हटेको हुँ,’ उनले भने ।
भट्टराईका अनुसार नयाँ नेतृत्वको जिम्मेवारी बिनोद थापालाई दिने सहमति भएको छ । अध्यक्षका लागि थापासहित अन्य ३ जनाले उम्मेदारी दिएका थिए । जसमध्ये महेन्द्रजंग शाहीको भने निर्वाचन समितिले आवश्यक कागजात अपुग भएको भन्दै उम्मेदवारी रद्द गरेको थियो । वर्तमान अध्यक्ष भट्टराई, थापा र विश्वविक्रम राईको मात्रै नेतृत्वमा उम्मेदवारी परेको थियो।
तर, अन्तिम समयमा सहमतिमा भट्टराई र राई पछाडी हटेपछि थापा निर्विरोध अध्यक्षमा निर्विरोध चुनिएका हुन्।
थापासँगै महासचिवमा रंजित क्षेत्री, कोषाध्यक्षमा कृष्ण नेपाल र युवा संयोजकमा अरुण गिरी निर्विरोध चुनिएको बताइएको छ।
आइसीसी सदस्य र वरिष्ठ उपाध्यक्षमा भने अझै सहमति जुट्न नसकेको भट्टराईले बताए । ‘अझै दुई पदमा मिल्न बाँकी छ । अरुमा सहमति जुटिसकेको छ । सवै मिलाउन अझै दुई दिन जति लाग्छ ।’
केहि दिनअघि विवाद बढेपछि निर्वाचन समिति नै खारेज गरिएको थियो । समितिलाई अख्तियारी दुरुपयोग गरेर उम्मेदारका गोप्य सूचना सार्वजानिक गरेको आरोप लागेको थियो।
श्रोतका अनुसार मलेसियामा बढेको विवाद मिलाउन अन्तिम समयमा एसिया प्यासिफिक उपसंयोजक खगेन्द्र न्यौपानले भूमिका खेलेका थिए।
ताजा अपडेट

१५ देशमा फैलियो मंकीपक्स संक्रमण
