कुवेतमा घाममा काम लगाउने र काम गर्ने दुवैलाई कारवाही

कुवेतमा घाममा काम लगाउने र काम गर्ने दुवैलाई कारवाही फाइल फोटो

कुवेत सिटी । कुवेत सरकारले दिउँसोको चर्को घाममा काम लगाउने कम्पनी तथा काममा संलग्न श्रमिक दुवै पक्षलाई चेतावनी दिएको छ।

पब्लिक अथोरिटी फर म्यानपावर (पीएएम) का सुरक्षा निरीक्षक अब्दुल्लाह अल ओताइवीका अनुसार साउथ अब्दुल्लाह अल–मुबारक क्षेत्रमा गरिएको निरीक्षणमा सरकारी नियमको उल्लंघन गरेको पाइएको हो। त्यसरी नियम उल्लंघन गर्ने ११ कम्पनी र ११ श्रमिकलाई उसले चेतावनी दिएको छ।

त्यस्तै, कम्पनी तथा श्रमिकले नियमको सही तरिकाले कार्यान्वयन गरे/नगरेको एकीन गर्नको लागि निरीक्षण टोलीले ती क्षेत्रहरुलाई पुनः निरीक्षण गर्ने बताइएको छ।

पुनः निरीक्षणको क्रममा पनि श्रमिकले नियम उल्लङ्घन गरेको पाइएमा उनीहरुलाई कानूनी मामिला विभागमा पठाइने, र त्यहाँ प्रक्रियाअनुसार कारवाही गरिने बताइएको छ। त्यसरी नियम उल्लंघन गर्ने कम्पनीको फाइल बन्द गरी १ सय देखि २ सय कुुवेती दिनारसम्म जरिवाना तिराइने समेत बताइएको छ।

कुवेतले मानवअधिकारको क्षेत्रमा धेरै सम्झौतामा हस्ताक्षर गरेको र अत्यधिक तापक्रमबाट श्रमिक वर्गलाई बचाउन प्रतिबद्ध रहेकोले यो नियम लागू गरेको बताइएको छ।

कुवेतमा १ जुनदेखि ३१ अगस्टसम्मको अवधिमा श्रमिकहरुलाई दिउँसोको ११ बजेदेखि ४ बजेसम्मको चर्को घाममा काममा लगाउन नपाइने नियम यसअघि नै जारी गरिएको छ।



No ads found for this position