इदमा सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै दुबई प्रहरीले १ सय २० स्थानमा ‘प्याट्रोलिङ’ गर्ने

इदमा सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै दुबई प्रहरीले १ सय २० स्थानमा ‘प्याट्रोलिङ’ गर्ने

दुबई । यस वर्षको इद अल–अधा (बकर इद) को अवसरमा दुबई प्रहरीले १ सय २० स्थानमा प्याट्रोल (निरीक्षण) गर्ने भएको छ।

दुबई ट्राफिक प्रहरी निर्देशनालयका कार्यकारी निर्देशक कोलोनेल जुम्मा सालेम बिन–सुवाईदानका अनुसार दुबई प्रहरीले पवित्र पर्व ईद अल–अधाको अवसरमा सडक सुरक्षा कायम गर्न तथा सुरक्षित सवारीको लागि निरीक्षण गर्न आफूहरुले राम्रो तयारी गरेको बताएका छन्।

‘यस विशेष अवसरमा जनधनको सुरक्षा गर्नु र सम्पूर्ण सर्वसाधारणको खुसीको सुनिश्चितता गर्नु आफूहरुको उद्देश्य रहेकोले आबस्यक कदम चाल्न ट्राफिक प्रहरीलाई निर्देशन गरिसकेका छौं,’ स्थानीय सञ्चारमाध्यमसँग सुवाईदानले भनेका छन्।

त्यसरी प्याट्रोल गरिने मुख्य ठाउँहरुमा दुबई मल, इमिरेट्सको मल, जेबीआर सिटी वाक, शिख मोहम्मद बिन रसिद बीएलभिडी, फेस्टिवल सिटी, मिर्दिफ सिटी सेन्टर, ला मेर, काइट बीच, एयरपोर्ट स्ट्रिट, अल सीफ स्ट्रिट, शिख मोहम्मद बिन जायेद रोड, ईमिरेट्स रोड, दुबई अल(ऐन रोड, अल ईतिहाद रोड, अल खालीज स्ट्रिट, अल क्वुड्स स्ट्रिट, अम्मान स्ट्रिट, एकेडेमिक सिटी स्ट्रिट, अल खोर स्ट्रिट, र जुमैराह्अ स्ट्रिट रहेका छन्।

त्यस्तै, गत वर्षका अनुभवले समय व्यवस्थापनको अभाव, चालकको हतार एवं लापरबाही, अस्वस्थ प्रतिस्पर्धा, एक्कासी गरिने लेन परिवर्तन, एवं अन्य कारणले इद जस्ता विशेष चार्डमा अत्यधिक दुर्घटना भएको बताउँदै यसवर्ष सबैलाई सजगता अपनाउन अनुरोध गरिएको छ। गतवर्ष ईदको अवसरमा गरिएको ५ दिनको बिदामा मात्रै दुबईमा ४ सय १२ सवारी दुर्घटना दर्ता भएका थिए।

त्यस्तै, कोभिड महामारी पूर्णरूपमा नियन्त्रण भइनसकेकोले स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गर्न समेत सबैलाई आग्रह गरिएको छ।

यसवर्ष ईद अल–अधाको अवसरमा युएई सरकारले ६ दिनको विदाको घोषणा गरिसकेको छ।