भारतमा आफ्नै साथीलाई मारेर फरार भएका नेपाली युवा पक्राउ

भारतमा आफ्नै साथीलाई मारेर फरार भएका नेपाली युवा पक्राउ सांकेतीक तस्वीर

पुणे। भारतमा एक नेपाली आफ्नै साथीको हत्याको अभियोगमा पक्राउ परेका छन्। पैसाको लेनदेन सम्बन्धी विवादमा झगडा भएपछि घटनाले उग्ररुप लिएको र यही क्रममा ३० वर्षीय युवा नेपालीले भगवान मार्कद नाम गरेका आफ्नो साथीलाई टाउकोमा लाठीले प्रहार गरेका थिए। भारतको महाराष्ट्रस्थित शास्वद गाउँमा भएको यो घटना ९ जुलाइको हो।

शास्वत प्रहरीका अनुसार अभियुक्त नेपाली युवालाई नेपाल–भारत सीमा नजिकबाट पक्राउ गरिएको हो। हत्या गरिएका भगवान मार्कद स्थानीय टायर पसलमा मजदुरी गर्थे। प्रहरीले ९ जुलाइमा एक नालीबाट उनको मृत शरीर बरामद गरेको थियो। उनी अत्याधिक मादक पदार्थ सेवन गर्ने व्यक्ति भएको र लेनदेनको विषयमा झगडा भएको आशंका प्रहरीले गरेको छ।

अनुसन्धानका क्रममा प्रहरीले निरन्जन सहनी नाम गरेका नेपाली युवालाई पक्राउ गरेको हो। उनी सचिन बोर्करको घरमा घरेलु श्रमिकको रुपमा काम गर्थे भने केही दिनदेखि उनी हराएको सूचना प्राप्त गरेपछि प्रहरीले आशंका गरेको थियो। निरन्जन र मृतक भगवान साथी थिए। उनीहरू विगतमासंगै बसेर पार्टी गर्ने गरेको खुल्न आएको छ।

प्रहरीले अनुसन्धानका क्रममा निरन्जनले ८ जुलाइमा भगवानलाई आफ्नो घरमा मटन र मदिरा पार्टीमा बोलाएका थिए। त्यहीँ उनीहरूबीच सानो लेनदेनको विषयलाई लिएर झगडा उत्पन्न भएको थियो।

झगडाले उग्ररुप लिएपछि उनले काठको लट्ठीले टाउकोमा गम्भिर तरिकाले प्रहार गरेपछि भगवानको मृत्यु भएको थियो। लगत्तै उनी मोटरसाइकलमा चढेर फरार भएका थिए। प्रहरी अनुसन्धान टोली उनलाई पछ्याउँदै नेपालको सीमा नजिक पुगेको थियो। प्रहरीका अनुसार उनलाई खोज्दै सीमामा पुग्दा ती अभियुक्त आफ्नो घर पुगिसकेका थिए। शाश्वद प्रहरीले १३ जुलाइमा उनलाई पक्राउ गरेपछि अदालतमा पेश गरेको थियो। १९ जुलाइसम्म उनी प्रहरी हिरासतमा रहने छन्।

प्रहरी इन्स्पेक्टर अन्ना साहेब घोलापका अनुसार अभियुक्तले अपराध स्वीकार गरेको र घटना सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको बताएका छन्।