बेलायतमा रोजिनाको उम्मेदवारीले तातेको माहोल

बेलायतमा रोजिनाको उम्मेदवारीले तातेको माहोल

लण्डन। रोजिना प्रधान, बेलायतमा बसोबास गर्ने नेपालीका लागि नौलो नाम होइन। समाजिक कार्यमा आफ्नो योगदानलाई लिएर उनी पहिलेदेखि नै चर्चामा छिन्। तर, यतिबेला गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको अध्यक्ष पदमा उनको उम्मेदवारीलाई लिएर चर्चा चुलिएको छ।

उनी वर्तमान कार्य समितिको उपाध्यक्ष पदमा कार्यरत छिन्।

रोजिना बेलायतमा बसोबास गर्ने भूपू नेपाली सैनिकले भोग्नुपरेको असमानताविरूद्धको आन्दोलनमा पहिले देखिनै संलग्न छिन्। अझ, कोभिड–१९ को बेला महिलामाथि भएको विभेद र समस्याविरूद्ध उनी दह्रो रुपमा उभिएकी थिइन।

यसले उनको व्यक्तित्वलाई थप ओजिलो मात्र बनाएको छैन, एनआरएनए बेलायतको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयलाई सार्थक पनि बनाएको छ।

उनी एनआरएनएको अभियानमा पहिले देखि नै सक्रिय छिन्। उनले आउँदो चुनावलाई प्रविधिमैत्री, पारदर्शीता तथा एकतामा विशेष जोड दिएकी छिन्।

उनको प्रतिबद्धतामा नेपाल र बेलायतबीच जारी २ सय वर्ष लामो कुटनीतिक सम्बन्धलाई थप उचाईमा पु¥याउने मात्र नभई, एनआरएनएको मूलनारा ‘नेपालका लागि नेपाली’ लाई बेलायतभरि स्थापित गराउने उल्लेख छ।

बेलायतमा हाल १ लाख ८० हजारको हाराहारीमा नेपाली बसोबास गर्छन। जसमा ८० हजारले बेलायती नागरिकता ग्रहण गरिसकेका छन्। बेलायतको नागरिकता नलिएका अन्य नेपालीलाई एनआरएनएको अभियानमा सक्रिय बनाउने कार्यमा रोजिना लगातार प्रयासरत छिन्।

उनले कोभिड–१९ महामारीमा खेलेको भूमिका प्रसशनीय मानिन्छ। भन्छिन्, ‘एनआरएनएमा पाएको जिम्मेवारीका कारण बेलायतमा रहेका भूपू गोर्खा, विधार्थी, विभिन्न संघसंस्था तथा नयाँ पुस्तालाई नजिकबाट हेर्ने र चिन्ने मौका पाएँ।’

उनले कोरोना महामारीका बेला महिला सशक्तिकरण, असहज परिस्थितिमा रहेका विधार्थीलाई सहयोग गर्ने जिम्मेवारी पनि पाएकी थिइन।

‘मैले कठिन अवस्थामा दरिलो रुपमा संस्थाको हितमा काम गरेको छु। आगामी दिन यहाँको विश्वास डगमगाउन दिनेछैन,’ आफ्नो उम्मेदवारी बारे उनले प्रवास खबरसँग भनिन्, ‘हामीले कोरोना महामारीको बेला चुनौतीलाई समेत अवसरका रुपमा प्रयोग ग¥यौं। जसको सकारात्मक नतिजा देखिएको छ।’

कोरोनाको दोस्रो लहरमा नेपाल पूर्णत प्रभावित रहयो। यस अवस्थामा बेलायतले २ सातामा करिब २ करोड ५० लाखभन्दा बढी रकम संकलन गरेर अक्सिजन कन्सन्ट्रेटर तथा स्वास्थ्य सामाग्री पठाउने नेतृत्वको जिम्मेवारी रोजिनाले सफलतापूर्वक सम्पन्न गरेकी थिइन।

‘यो कार्यमा सबैले दिनुभएको साथ र सहयोगका लागि धन्यबाद भन्न चाहन्छु। मेरो अध्यक्ष बन्ने अभियानमा पनि यसरी नै सबैले साथ दिनुहुनेछ भन्ने आशा व्यक्त गरेको छु,’ उनी भन्छिन्।

एनआरएनए बेलायतको चुनाव ३१ जुलाईमा हुँदैछ। यसका लागि आफू योग्य उम्मेदवार भएको उनको दावी छ। ‘उपाध्यक्ष हुँदा हासिल गरेको अनुभवका आधारमा सिंगो संगठनको नेतृत्व गर्न सक्छु जस्तो लाग्छ,’ उनले भनिन्।

उनले आफू अध्यक्ष पदमा निर्वाचित भए गोर्खा सैनिकको आन्दोलनलाई थप उचाईमा पु¥याउन पहलकदमी गर्ने बताइन्। यस्तै, नेपालमा सानाठूला तथा सामुहिक लगानी प्रवद्र्धन गर्ने अभियान आफ्नो रहने उनको भनाइ छ।

‘स्वदेशको विकास र समृद्धिका लागि सम्पूर्ण गैरआवासीय नेपालीको सामुहिक र व्यक्तिगत लगानी भित्र्याउन सानोदेखि ठूलो लगानीकर्तालाई प्रोत्साहन गर्न एनआरएनए यूके लगानी वर्षको रुपमा अभियानको सुरुवात गर्नेछु’, उनले भनिन्।

यस्तै आफ्नो कार्यकालमा बेलायतमा रहेका नेपालीलाई परेको दुःखमा मलम लगाउने उद्देश्यले यसअघि स्थापित आपतकालिन फण्डको अवधारणलाई अझ प्रभावकारी रुपमा अघि बढाउने प्रयास रहने उनको भनाइ छ।

‘अझ नेपालमा आइपर्ने प्राकृतिक विपतमा आवश्यक सहयोगका लागि स्थायी फण्डको समेत व्यवस्था गर्न पहल गर्नेछु,’ उनी भन्छिन्।

आफ्नो कार्यकालमा एनआरएनए यूके सीप बैंकको स्थापना गरिने उनको भनाई छ। ‘विदेशमा रहेका नेपालीको सीप र ज्ञानलाई नेपालको समृद्धिमा लगाउने उदेश्यले बेलायतमा विभिन्न पेशामा रहेका विज्ञको छुट्टै संरचना स्थापना गर्छु।

त्यस्तो संरचनामा डाक्टर, इन्जिनियर, विभिन्न विश्वविद्यालयमा अध्यापन गरिरहेका नेपालीलाई सहभागी गराउने छु। उहाँहरुले सिकेको ज्ञान र सीपलाई नेपालको हितमा प्रयोग गर्न नेपाल सरकारसँग समन्वय गर्नेछु,’ उनी भन्छिन्।

नेपालमा वर्षेनी ५० हजार बढी बेलायती पर्यटक भित्रिने गरेकोमा आफ्नो कार्यकालमा थप पहलकदमी गरिने उनको भनाइ छ।

‘विश्वव्यापी कोरोना भाइरसको महामारीका कारणले नेपालको पर्यटन क्षेत्रमा परेको प्रभावलाई कम गर्न बेलायती पर्यटकको प्रमुख गन्तव्य नेपाललाई बनाउन प्रेरित गर्न गन्तव्यको प्रचार—प्रसार गर्न विशेष योजना ल्याउनेछु,’उनी भन्छिन्।

उनले आफ्नो कार्यकालमा स्मार्ट एनआरएनए, निस्शुल्क सदस्यता र स्थायी सचिवालय स्थापना गरिने योजना पनि सुनाइन्। यस्तै नेपाली भाषा संस्कृति र भेषभूषाको प्रवर्द्धन गर्न आफू सक्रिय बन्ने उनको भनाई थियो।