कोरोनाभन्दा भोकमरीले मानिस मर्न थाले, प्रत्येक १ मिनेटमा ११ जनाको निधन

कोरोनाभन्दा भोकमरीले मानिस मर्न थाले, प्रत्येक १ मिनेटमा ११ जनाको निधन

काठमाडौं। गैरसरकारी संस्था अक्सफामले हालै सार्वजनिक गरेको एक रिपोर्टमा मानिसहरू कोरोना महामारीभन्दा पनि भोकमरीबाट अत्याधिक मर्न थालेको बताइएको छ। संस्थाको रिपोर्ट अनुसार प्रत्येक मिनेट विश्वमा ११ जनाको निधन भोकमरीका कारण हुन थालेको छ।

अकालमा मृत्युवरण गर्ने मानिसको संख्या पछिल्लो एक वर्षमा ६ गुणाले बढेको पनि रिपोर्टमा उल्लेख छ। अक्सफामले ‘हंगर भाइरस मल्टिप्लाइज’ शीर्षकमा हालै एउटा रिपोर्ट सार्वजनिक गरेको थियो। यसमा कोभिड–१९ का कारण विश्वमा एक मिनेटमा ७ जना मर्ने गरेको तर यसको तुलनामा भोकमरीबाट अधिक मानिस मर्न थालेको उल्लेख छ।

संस्थाका अमेरिकी शाखाका अध्यक्ष तथा सीईओ एबी मेक्सम्यानले यो तथ्यांकले सबैलाई सोच्न बाध्य बनाएको बताएका छन्।

रिपोर्टअनुसार विश्वमा हाल १५ दशमलव ५ करोड मानिस खाध्य असुरक्षाको भिषण जोखिममा छन्। यो तथ्यांक विगतको तुलनामा २ करोडले बढी हो। यसमा लगभग दुई तिहाई मानिस भोकमरीको शिकार भएका छन्।

भोकमरीको सबैभन्दा ठूलो कारण सैन्य संघर्षलाई मानिएको छ। मेक्सम्यान भन्छन्, ‘आज कोभिड–१९ को कारण आर्थिक क्षेत्रमा देखिएको समस्या र निरन्तरको संघर्ष तथा जलवायु संकटले विश्वमा ५ दशमलव २० लाख बढी मानिस भोकमरीको चपेटामा परेका छन्।’

विश्वमा भोकमरीको अवस्था दिनहुँ बिग्रिदै गएपनि सैन्य खर्च बढेर ५१ अर्ब डलर पुग्नु दुःखद भएको उनको भनाई थियो। अक्सफमका अनुसार भोकमरीसँग लड्न जति पैसा संयुक्त राष्ट्र संघलाई आवश्यक छ, त्यो पर्याप्त छैन। यसका लागि हालको व्यवस्थाभन्दा ६ गुणा पैसाको आवश्यकता रहेको बताइएको छ।

अफगानिस्तान, इथोपिया, दक्षिण सुडान, सिरिया र यमन सबैभन्दा बढी प्रभावित देश हुन्।