अमेरिकामा नेपाली युवाले गरे आफ्नै सहकर्मी नेपालीको गोली हानेर हत्या

अमेरिकामा नेपाली युवाले गरे आफ्नै सहकर्मी नेपालीको गोली हानेर हत्या

वासिंटन डिसी । अमेरिकामा एक नेपाली युवाले आफ्नै सहकर्मीको हत्या गरेका छन् । न्यूजर्सीको ग्यास स्टेशन कार्यरत २४ वर्षीय मिलन घिमिरेले आफ्नै नेपाली सहकर्मी ५६ वर्षीय फु छेवाङको हत्या गरेका हुन् ।

स्थानीय मिडियाका अनुसार घिमिरले न्यूजर्सीको मवाहमा छेवाङको गोली हानेर हत्या गरेका हुन् । सोमबार राती ९.४४ बजे फोन आएपछि प्रहरी घटनास्थल पुगेको थियो । त्यहाँ पुग्दा छेवाङ मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । हत्यारा घिमिरे भने घटनास्थलबाट फरार भएका थिए ।

प्रहरीले हत्याराको खोजी गर्ने क्रममा २४ घण्टा नबित्दै मंगलबार न्युयोर्कको ब्रोंक्सबाट घिमिरेलाई पक्राउ गरेको थियो । घिमिरेले छेवाङमाथि पटक–पटक गोली चलाएको अनुसन्धानमा खुलेको छ।

आरोपित घिमिरेलाई हाल ब्रेंक्समा हिरासतमा राखिएको प्रहरीले जनाएको छ । उनीमाथि हत्या, हात–हतियार राखेको र प्रमाण नष्ट गर्न छेडछाड गरेको अभियोग लगाइएको छ।

घिमिरे र छेवाङ रुममेट समेत भएको स्थानीय मिडियाले उल्लेख गरेका छन् ।

प्रवास खबरलाई प्राप्त जानकारी अनुसार मृतक छेवाङ नेपालमा मनाङ निवासी हुन् । उनी न्युयोर्कको ज्याक्सनहाइटमा बस्दै आएका थिए ।