युरोप छिर्न खोज्दा मारिएका विश्वकर्माको शव १० महिनादेखि इराकमा अलपत्र

युरोप छिर्न खोज्दा मारिएका विश्वकर्माको शव १० महिनादेखि इराकमा अलपत्र

काठमाडौं। विगत १० महिनादेखि इराकको कुर्दिस्तानस्थित शवगृहमा एक नेपालीको शव अलपत्र छ। बाग्लुङको निसिखोला गाउँपालिका वडा नम्बर–१ साविक देविस्थान–३ केटेनी निवासी अनाराम विश्वकर्माको लास इराकमा अलपत्र परेको हो।

उनी १० सेप्टेम्बर २०२० मा कुदिस्तानको एर्विलबाट युरोप प्रवेश गर्ने क्रममा इरानको सीमा नजिकै च्वारता भन्ने ठाउँमा मारिएका थिए। टर्कीको अवैध बाटो प्रयोग गरेर युरोप प्रवेश गर्ने उनको योजना थियो। तर, इराक–इरान सीमामा अज्ञात समूहले गोली चलाउँदा उनको घटनास्थलमै निधन भएको थियो।

उनीसँगै हिँडेका दुई नेपाली पनि घटनामा घाइते भएका थिए। इराक प्रहरीले १७ दिन हिरासतमा राखेर उनीहरूलाई रिहा गरेको थियो भने विश्वकर्माको मृत शरिर शवगृह पठाएको थियो। घटनाको जानकारी इराक प्रहरीले उनीहरू इराकबाट हिँडेको ४ दिनपछि पत्ता लगाएको थियो। विश्वकर्माको शव हाल सुलेमानी शहरको तवारी शवगृहमा छ।

शव नेपाल फर्काउने विषयमा कुवेतस्थित नेपाली दूतावासले मात्र होइन, परिवारबाट पनि ठोस् पहलकदमी नहुँदा कुर्दिस सरकार नै अलमलमा परेको छ। कुवेतस्थित नेपाली दूतावासले इराकमामिला पनि हेर्ने गर्दछ।

नेपाली पक्ष उदासिन बन्दा कुर्दिस सरकार विश्वकर्माको शव कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अन्यौलमा छ। १० महिनादेखि तवारी शवगृहमा नेपालीको शव राख्दा प्रतिदिन लाग्ने शुल्क कुर्दिस सरकारले बेहोर्न बाध्य भएको छ। कुर्दिस्तानमा कार्यरत नेपाली समाजका अगुवा तथा एनआरएनए इराकका सचिवसमेत रहेका विनोद श्रेष्ठका अनुसार विश्वकर्माको लास लामो समय शवगृहमा राख्दा समस्या भएको बताएका छन्। उनले प्रवास खबरलाई जानकारी दिँदै भने, ‘विजुलीको अभावमा शव बिग्रिएको र तुरुन्त व्यवस्थापन गर्न हामीलाई दबाब आइरहेको छ।’

कुर्दिस सरकारले लामो समय यसरी लास राख्न नसक्ने र नेपालले तुरुन्त व्यवस्थापन गर्न नसकेको खण्डमा विश्वकर्माको शव वेवारिसे रुपमा फ्याकिदिने बताएको श्रेष्ठले जानकारी दिए।

यस विषयमा धेरैअघि परिवारसँग सम्पर्क भएको तर, त्यस उपरान्त सम्पर्कविहिन भएको कारण कुर्दिस्तानमा बसोबास गरिरहेका अन्य नेपालीलाई पनि गाह्रो भइरहेको बताए।

यस सम्बन्धमा प्रवास खबरले मृतक विश्वकर्माका दाजु कुलमान बिकसँग सम्पर्क गरेको थियो। सम्पर्कका क्रममा उनले इराकमै बस्ने आफन्तले जीवित रहेको सूचना पहिले दिएको र धेरैपछि मात्र निधन भएको जानकारी पाएको बताए।

‘हामीलाई सुरुदेखि नै साँचो सूचना उपलब्ध भएन। इराकमा आफन्त पर्ने अन्य भाई पनि कार्यरत छन्। उनीहरूले पहिले मेरो भाई जिवितै रहेको बताए। बाहिरबाट होहल्ला सुनेपछि हामीले पुनः सोध्दा मृत्यु भइसकेको जानकारी दिए,’ मृतकका दाजु कुलमानले भने, ‘भाईको शव प्रहरीकहाँ बुझ्न डराएका कारण उनीहरूले गलत सूचना दिएका रहेछन्।’

मृत्यु बारे जानकारी पाएपछि परिवार अहिले विश्वकर्माको शव नेपाल फर्काउने अभियानमा लागेको छ। तर, पैसाको अभावमा उनीहरू ठोस् कदम उठाउन सकिरहेका छैनन्। हाल उनीहरूले शव फर्काउन सहयोगको याचना गरेका छन्। दाजु कुलमानले भने, ‘शव नेपाल ल्याउन करिब पाँच लाख ५० हजार लाग्ने बताइएको छ। हाम्रो आर्थिकस्थिति यति पैसा खर्चिएर नेपाल ल्याउने अवस्थामा छैन। त्यसैले सबैसँग सहयोग माग गरिरहेका छौं।’ उनले गाउँ पालिकाबाट नाता प्रमाणित गरेर शवलाई कानुनी रुपमा नेपाल फर्काउने प्रयास गरिरहेको बताए।

यस विषयमा कुवेतस्थित नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी भन्छन्, ‘हामी कहाँ अहिलेसम्म कसैले औपचारिक रुपमा शव फर्काउन निवेदन दिएका छैनन्। परिवारले काउन्सिलर विभागमार्फत हामीलाई सबै विवरण उपलब्ध गराएको खण्डमा आवश्यक कानुनी प्रक्रिया अपनाएर शव फिर्ता गराउन सक्रिय हुनेछौं।’

उनले यस विषयमा इराक सरकारले पनि आफूलाई कुनै जानकारी नदिएको बताए। प्रवास खबरसँग छोटो कुराकानी गर्दै उनले भने, ‘बाहिरबाट केही हल्ला नआएका होइनन्। तर, यस्तो मुद्धामा परिवारले चासो नलिएपछि हामीले कानुनी उपाय अपनाउन गाह्रो पर्ने रहेछ।’

यसरी भएको थियो घटना

इराकको कुर्दिस्तानमा कार्यरत अनाराम विश्वकर्मासहित ३ नेपाली युवा १० सेप्टेम्बर, २०२० मा टर्कीको बाटो हुँदै युरोप छिर्न इरानतर्फ लागेका थिए। उनीहरूलाई कुर्दिस्तानमा रहेका एक बंगाली बिचौलिया आरिफले युरोपमा राम्रो काम र आकर्षक तलब दिलाउने प्रलोभन दिँदै फसाएका थिए।
आरिफ मानव तस्करीको अन्तर्राष्ट्रिय गिरोहसँग साँठगाँठ गर्दै मानव बेचबिखनमा सक्रिय दलाल मानिन्थे। उनी इराकमा रहेका नेपाली, बंगाली र भारतीय नागरिकलाई प्रलोभन देखाएर पैसा असुल्ने गर्थे।

युरोपमा राम्रो रोजगारी मिलाइदिने भनेपछि ती नेपाली पनि आरिफको फन्दामा परे। इराकबाट प्रहरीसँग सेटिङ गरेर यी दलालहरू इरानको जंगली बाटो हुँदै पहिले टर्की र त्यसपछि अन्य युरोपेली मुलुकमा मानिसहरू पठाउने गर्दथे।

यही अभियानअन्तर्गत १० सेप्टेम्बरमा मृतक विश्वकर्मा र दुई नेपाली पनि कुर्दिस्तानको एर्विलबाट सुलेमानीका लागि हिँडेका थिए। सुलेमानी पुगिसकेपछि उनीहरू टर्कीका लागि यात्रा गर्ने तय थियो।

एर्विलबाट सुलेमानीका लागि हिँडेका उनीहरू कुर्दिस्तानको दुकान भन्ने ठाउँ पुग्दासम्म आफन्त तथा साथीभाइको सम्पर्कमा थिए। त्यसपछि उनीहरू एकाएक सम्पर्कविहीन भए।

सम्पर्कविहीन भएपछि उनीहरूको खोजी सुरु भएको थियो। यसका लागि दुकानदेखि सुलेमानीसम्मको सम्पूर्ण चेकपोस्टमा खोजतलास भएको थियो।

स्थानीय प्रहरीले उनीहरूको खोजी कार्यलाई तिब्र बनाएपछि १४ सेप्टेम्बरमा हराएका नेपालीहरूको जानकारी प्राप्त भयो। प्रहरीले सुलेमानीको सित्तकभन्दा पछाडि च्वारता भन्ने ठाउँमा ३ नेपाली फेला परेको जानकारी कुर्दिस्तानस्थित नेपाली समाजका अगुवालाई दिएको थियो।

दलालले इराकको सीमा पार गराउँदै गर्दा एक्कासी फायरिङ शुरु भएको र यसमा विश्वकर्माको निधन भएको जानकारी प्रहरीले गराएको थियो। विश्वकर्माको पेटको कोखाबाट गोली छिरेको थियो। अन्धाधुन्ध गोली चलेपछि छल्नलाई चालकले गाडीलाई जंगलतर्फ मोड्दा पल्टेर नालीमा खसेको थियो।

उनीहरुमाथि गोली चलाउने समूहको हालसम्म पनि पहिचान भएको छैन् ।