एनआरएनए कोरियाको आरोपविरुद्ध पत्रकार महासंघको आपत्ति, अध्यक्ष भन्छन्–डेटा चोरी गरिएको होइन

एनआरएनए कोरियाको आरोपविरुद्ध पत्रकार महासंघको आपत्ति, अध्यक्ष भन्छन्–डेटा चोरी गरिएको होइन

सौल । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफूहरुप्रति लगाएको आरोपको खण्डन गरेको छ । महासंघले संघको कुनै पनि डेटा अनाधिकृत रुपमा चोरी नगरेको बताएको छ।

संघले आफ्ना सदस्यहरुको डेटा महासंघले आफ्नो कम्प्युटरबाट अनाधिकृत रुपमा चोरी गरेर आफ्नो फेसबुक पेजबाट सार्वजानिक गरेको भन्दै स्थानीय प्रहरी चौकी र अदालतमा मुद्दा दायर गरेको थियो।

महासचिव विमल सुवेदीले महासंघका जिम्मेवार पदाधिकारीले नै संघका २ हजार २ सय २ जनाको डेटा अनाधिकृत रुपमा आफ्नो पेजबाट सार्वजानिक गरेपछि आफूहरुले मुद्दा दायर गरेको प्रवास खबरलाई बताएका थिए । महासंघ जस्तो जिम्मेवार निकायले स्थानीय कानूनलाई धज्जी उडाएपछि आफूहरु कानूनको साहयता लिन वाध्य भएको सुवेदीको भनाइ थियो।

तर, महासंघका अध्यक्ष रञ्जन राज कुँवरले संघले आफूहरुप्रति जघन्य आरोप लगाएको भन्दै आपत्ति प्रकट गरेका हुन् । उनले प्रवास खबरसँग भने, ‘महासंघले डेटा चोरी गरेको भन्ने सरासर गलत हो । एनआरएनएकै कुनै पदाधिकारीले हामीलाई इन्डबक्समा पठाएको डेटा सेयर मात्रै गरेका हौँ । डेटा हामीले चोरेको होइन, उहाँहरुकै कुनै पदाधिकारीबाट हामीसमक्ष आइपुगेको हो । यसको प्रमाण दिनु परे हामी तयार छौँ ।’ कुँवरले एनआरएनए जस्तो संस्थाले महासंघलाई चोरीको आरोप लगाउनु सिंगो पत्रकारिता जगत र पत्रकारहरुको अपमान भएकाे आरोप लगाएका छन् ।

सदस्यहरुको व्यक्तिगत विवरण सार्वजानिक सम्बन्धमा भने आफूहरुबाट गल्ती भएको उनले स्वीकार गरेका छन् । उनले भने, ‘स्थानीय कानूनको सम्मान गर्नुपर्छ, हामी गर्छौ । सदस्यहरुको व्यक्तिगत विवरण सार्वजानिक गर्नुहुँदैन्थयो, यसमा हाम्रो असावधानी भयो ।’

उनले नेपाली संघ–संस्थाबीच भएको मदभेदको समाधान पनि नेपाली समुदायबाट नै खोज्नु पर्ने बताए । ‘समस्या हामीहरुबीचमै समाधान गर्नुपर्छ । यसमा हामी सकारात्मक छौँ, यो विषयमा पनि अहिले एनआरएनएसँग छलफल गर्दैछौँ,’ अध्यक्ष कुँवरले महासंघमाथि लागेको आरोपबारे दोहर्‍याउँदै भने, ‘चोरीको आरोप लगाएर स्थानीय निकायसम्म उजुरी गर्नु जायज होइन । यसले बाहिर नराम्रो म्यासेज गएको छ।’

कोरियामा महासंघ र एनआरएनएबीच पहिलादेखि नै खटपट हुँदै आएको छ । आउँदो निर्वाचनलाई लिएर पनि महासंघका पदाधिकारी र संघबीच तीव्र मतभेद छ। दुई जिम्मेवार संस्थाबीच सुमधुर सम्बन्ध कायम हुन नस्कदा यसको असर कोरियाली नेपाली समाजमा परेको छ।

यो पनि पढ्नुहोस्

नेपाल पत्रकार महासंघ दक्षिण कोरियाविरुद्ध स्थानीय प्रहरी र अदालतमा मुद्दा