एनआरएनए नेदरल्याण्ड विवाद : महासचिव भन्छन्– निर्वाचन समिति खारेज, अधिवेशन स्थगित

एनआरएनए नेदरल्याण्ड विवाद : महासचिव भन्छन्– निर्वाचन समिति खारेज, अधिवेशन स्थगित

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) नेदरल्याण्डको ११ जुलाइ आइतबारका दिन तय भएको अधिवेशन स्थगित भएको महासचिव संघर्षशील केसीले बताएका छन्।

उनले निर्वाचित समितिले नियमविपरित काम गरेकोले अधिवेशन स्थगित गरिएको प्रवास खबरलाई जानकारी दिए । उनले कार्यसमितिले निर्वाचन समिति खारेज गरेर नयाँ बनाउन लागेको पनि बताए।

‘निर्वाचित समितिले आचारसंहिताको कारण देखाउँदै नियोजित ढंगले मनोमानी गतिविधि गरेपछि समिति खारेज गरिएको हो । एनआरएनए नेदरल्याण्डको अस्तित्व नै मेटाउने कार्य गरेपछि कार्यसमितिले नयाँ निर्वाचन समिति गठन गर्न लागेको छ । भोलीको अधिवेशन १३ जुलाइमा हुने भएको छ,’ केसीले प्रवास खबरसँग भने ।

उता निर्वाचन समिति संयोजक फणिन्द्र पन्तले भने अधिवेशन स्थगित नभएको बताएका छन् । उनले समिति खारेज पनि नभएको दावी गरे । पुरानै समितिले काम गरिरहेको र नियम अनुसार पूर्वतः मितिमै अधिवेशन गरिने उनको भनाइ छ ।

निर्वाचन समितिले २२ जना उम्मेदवारको रित नपुगेको भन्दै उम्मेदवारी अमान्य घोषणा गरेको थियो, जसले अहिले एनआरएनए नेदरल्याण्डमा विवाद चुलिएको छ।

स्वच्छ, निष्पक्ष र धाँधलीरहित नेतृत्व चयनका लागि निर्वाचन समिति आफ्नोतर्फबाट आचरसंहितामा टेकेर काम गरिरहेको संयोजक पन्तको भनाइ छ।

एनआरएनए अभियानमा लामो समय संलग्न पन्त विवादमा तानिएको यो पहिलो घटना हो । पन्तले भने बाहिर आएजस्तो ठूलो विवाद नभएको दावी गरेका छन्।

‘निर्वाचन समितिले नीति–नियमलाई आधार मानेर काम गरेको हो । यो बाहिर आए जस्तो ठूलो विवाद केही होइन ।’