एनआरएनए अष्ट्रीयाको नेतृत्वमा महिला उम्मेद्वार थापाको दावेदारी

एनआरएनए अष्ट्रीयाको नेतृत्वमा महिला उम्मेद्वार थापाको दावेदारी

अष्ट्रीया । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् ( एआरएनए/एनसीसी) अष्ट्रीयाको नेतृत्वमा बाबा राजेश्वरी थापाले उम्मेदवारी दिएकी छिन्।

वर्तमान कार्यसमितिमा प्रवक्ता समेत रहेकी थापाले संघको आगामी २०२१–०२३ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएकी हुन्।

नयाँ कार्यसमिति चयनका लागि एनसीसी अष्ट्रीयाको आउँदो ३१ जुलाइमा निर्वाचन हुँदैछ।

थापाले एनआरएनए अष्ट्रीयालाई थप चुस्त र दुरुस्त राख्दै अझ प्रभावकारी बनाउन आफूले उम्मेदवारी दिएको प्रवास खबरलाई बताइन् ।

‘समाज सुसंस्कृत र समृद्ध हुन नेतृत्वको सोच र चिन्तन अपरिहार्य हुन्छ । उर्जाशील, कर्मशील, र विवेकशील सामाजिक वातावरण निर्माण गर्दै एनआरएनए अष्ट्रीयालाई परिणाममुखी बनाउन मेरो अध्यक्षमा उम्मेदवारी हो,’ थापाले भनिन् ।

थापाले प्रवास खबरसँग कुरा गर्दै विगतमा आफूले आर्जन गरेको अनुभव, ज्ञान र सीपलाई सदुपयोग गरेर एनआरएनए अष्ट्रीयालाई एक सवल, गतिशील र दूरदर्शी नेतृत्व प्रदान गर्ने दृढ संकल्प व्यक्त गरेकी छिन्।

संघको नेतृत्वलाई न्याय दिलाउन आफू योग्य उम्मेद्वार रहेको उनको दावी छ । सञ्चार क्षेत्रमा लामो अनुभव रहेकोले न्यायोचित नेतृत्व हाँक्न यसले आफूलाई टेवा पुर्याउने थापाको विश्वास छ ।

‘मिडिया क्षेत्रमा निरन्तर काम गरिरहेकोले मलाई धैरै कुराको अनुभव छ । संस्थाभित्र हुने राम्रा/नराम्रा कामहरुलाई नजिकबाट नियाल्ने मौका पाएकी छु । पत्रकारिताको अनुभवले मलाई संघमा सकरात्मक नेतृत्व प्रवाह गर्न सहयोग पुर्याउने विश्वास लिएकी छु,’ थापाले भनिन्।

उनले एनआरएनए अष्ट्रीयाको छविलाई माथि उकास्ने र एक उदाहरणीय राष्ट्रिय समिति (एनसीसी) का रुपमा चिनाउने प्रतिबद्धतासमेत जनाएकी छिन्।

गैरआवासीय नेपालीको मुद्दा राम्रोसँग बुझेकोले आइसीसीसँगको समन्वयमा त्यसतर्फ पनि आफूले काम गर्ने बताएकी छिन।

थापाले अग्रज व्यक्तित्वहरूको सुझाव, हौसला तथा आग्रहलाई मनन गर्दै उम्मेदवारी दिएको बताइन् ।

वर्तमान कार्यसमिति भित्रै बलियो प्रभाव बनाएकी थापा नयाँ नेतृत्वका लागि आफ्नो दावेदारी स्वाभाविक भएको दावी मात्रै गर्दैनन,आफूलाई विजय प्राप्त हुनेमा पनि ढुक्क देखिन्छिन्।