एनआरएनए इटालीको अध्यक्षमा कंडेलको उम्मेदवारी

एनआरएनए इटालीको अध्यक्षमा कंडेलको उम्मेदवारी

रोम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) इटालीको आगामी नेतृत्वका लागि छबीलाल कंडेलले उम्मेदवारी घोषणा गरेका छन् ।

कंडेलले एक विज्ञप्ति जारी गरेर आगामी कार्यकाल २०२१–०२३ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन। उनी एनआरएनए इटालीको वर्तमान कार्य समितिमा उपाध्यक्षको जिम्मेवारीमा छन्।

संघको सातौँ राष्ट्रिय महाधिवेशन २५ जुलाइमा इटालीको पार्मामा हुँदैछ।

कंडेलले इटालीमा कार्यरत नेपालीहरूको समस्यालाई मध्यनजर गर्दै उनीहरूको लागि कार्ययोजना ल्याउने आफ्नो तयारी रहेको बताए।

आफ्नो उम्मेदवारीबारे कंडेलले प्रवास खबरसँग भने, ‘इटालीमा रहेका नेपालीका समस्या न्यूनीकरण गर्न प्रयत्न गर्नेछु । ’ एनआरएनए यात्रामा आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निभाएर कंडेलले सक्रिय व्यक्ति तथा समाजसेवीका रुपमासमेत आफ्नो पहिचान बनाएका छन्।

आफू विगत ८ वर्षदेखि विभिन्न जिम्मेवारीमा रहेर एनआरएनए इटालीलाई योगदान पुर्याएको कंडेल बताउँछन् । ‘समाजमा केहि गर्न सकिन्छ भन्ने हेतुले एनआरएनए इटालीमा निरन्तर लागिरहेको छु । सामाजिक सेवामा जोडिन मलाई अत्यन्तै खुशी लाग्छ,’ उनले भने ।

सन् २०१३ मा युवाप्रतिनिधिको रुपमा एनआरएनएमा प्रवेश गरेका कंडेलसँग २०१७–०१९ कार्यकालमा महासचिवको जिम्मेवारी निर्वाह गरेको पनि अनुभव छ । २०१९ देखि अहिलेसम्म उनी उपाध्यक्षको भूमिकामा छन्।

कोभिड महामारीमा इटालीका नेपालीलाई आइपरेका समस्या समाधानमा वर्तमान कार्यसमितिले खेलेको भूमिकाको स्मरण गर्दै कंडेल भन्छन्,‘संकटको घडिमा पनि एआरएनए इटालीले सामाजिक कार्यमा निरन्तर हातेमालो गरिरह्यो । इटालीमा नेपालीले भोग्नु परेको समस्या समाधान तथा नेपालमा अक्सिजन प्लान्टस्थापनाको लागि संघले सहयोग गरेको थियो । यसमा केही योगदान मेरो अवस्य थियो ।’ उनले आफ्नो कार्यकाल सफल बनाउन सहयोग पुर्याउने कार्यसमितिका पदाधिकारी तथा इटालीवासी नेपालीलाई धन्यावाद समेत दिएका छन्।

अध्यक्षमा निर्वाचित भएपछि तपाईँको प्रमुख योजना के हो त ? भन्ने प्रवास खवरको जिज्ञाशामा कंडेल भन्छन्, ‘इटालीवासी नेपालीलाई एकत्रित गर्दै आपसी सामाजिक सदभाब कायम गर्छु । ‘नेपालीको लागि नेपाली’ भन्ने नारालाई सफल बनाउँदै देश विकाशमा टेवा पुर्याउँछु ।’

योबाहेक इटालीमा रहेका दोस्रो पुस्तालाई एनआरएनएमा आकर्षित गर्न विशेष भूमिका खेल्ने उनको एजेण्डा छ । ‘दोस्रो पुस्तालाई एनआरएनएमा जोड्न सकिएन भने यो संस्थाको औचित्य पनि सकिन सक्छ । यो हाम्रा लागि ठूलो चुनौतीको विषय हो,’ कंडेल भन्छन्, ‘इटालीमै जन्मिएको पुस्ता र युवालाई आकर्षित गर्ने पूर्वाधार विकासको लागि मेरा केही विशेष योजना छन् ।’

कंडेल गैँडाकोट निवासी हुन् ।