कोभिड नियन्त्रणमा कतारको कदम प्रभावकारी, प्रतिबन्ध थप खुकुलो बनाइयाे (सम्पूर्ण जानकारीसहित)

कोभिड नियन्त्रणमा कतारको कदम प्रभावकारी, प्रतिबन्ध थप खुकुलो बनाइयाे (सम्पूर्ण जानकारीसहित) फाइल फोटो

दोहा । कतारले कोभिडको कारणले लगाएको प्रतिबन्धलाई शुक्रबारदेखि थप खुकुलो बनाउने भएको छ।

कोभिड महामारीलाई नियन्त्रण र रोकथाम गर्न कतार सरकारले पहिलेदेखि नै स्वास्थ्य मापदण्डका साथै प्रतिबन्धित व्यवस्था लागू गरेको थियो।

कोभिड नियन्त्रणमा सरकारले गरेको प्रयासँगै अपनाइएको स्वास्थ्य मापदण्ड र कोभिड विरुद्धको खोप कार्यक्रमले महामारी नियन्त्रणमा उल्लेख्य सफलता प्राप्त भएपछि सरकारले प्रतिबन्धहरुलाई क्रमशः खुकुलो बनाउँदै लगेको हो। यसभन्दा अगाडि सरकारले दुई चरणमा प्रतिबन्ध खुकुलो बनाइसकेको छ।

अब फेरि कतारले ९ जुलाइ शुक्रबारदेखि लागू हुनेगरी प्रतिबन्धलाई थप खुकुलो बनाउने घोषणा गरेको छ।

कतारको स्वास्थ्य मन्त्रालय र विपद् व्यवस्थापनको लागि सुप्रिम कमिटीले प्रस्तुत गरेको प्रतिवेदनको समीक्षा गर्दै प्रधानमन्त्री तथा गृहमन्त्री शेख खालिद बिन खालिफा बिन अब्दुल्लाजिज अल–थानीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले तेस्रो चरणमा प्रतिबन्ध खुल्ला गर्ने निर्णयको अनुमोदन गरेको हो।

तेस्रो चरणमा प्रतिबन्ध खुकुलो बनाएसँगै अब विवाह समारोह व्यापक उपस्थितिको साथमा पनि गर्न सकिने छ। त्यसैगरी मेट्रो ट्रेन र सार्वजनिक बसमा अझ धेरै मानिसहरू यात्रा गर्न सक्नेछन्।

त्यस्तै, अबदेखि बच्चाहरु पनि थिएटर र स्युकहरुमा प्रवेश पाउनेछन्।

यात्रा तथा रिटर्न सम्बन्धी नीति र क्वारेन्टाइनका शर्त सम्बन्धी व्यवस्था पछि घोषणा गरिने बताइएको छ।

कार्यालय

कार्यालयको सन्दर्भमा मन्त्रिपरिषद्ले कोभिड सम्बन्धी विद्यमान मापदण्डलाई नै निरन्तरता दिने निर्णय गरेको छ। जसअनुसार ८० प्रतिशत सरकारी तथा निजी कम्पनीका कर्मचारीले कार्यालयमै उपस्थित भइ सेवा प्रवाह गर्न पाउनेछन् भने बाँकीले आफू रहेको स्थान बाटै काम गर्नुपर्नेछ।

कार्यालयले आयोजना गर्ने बैठकमा बढीमा १५ जनासम्म सहभागी हुन सक्नेछन्, जसमध्ये कम्तीमा १० जनाले कोभिड बिरुद्धको खोपको पुर्ण मात्रा लगाइसकेको हुनुपर्नेछ। सो भन्दा धेरै संख्यामा बैठक बस्नुपर्ने भएमा अझै पनि अनलाइनमै बस्नुपर्ने व्यवस्था गरिएको छ।

कोभिडविरुद्धको खोप नलिएका सार्वजनिक तथा निजी क्षेत्रका कर्मचारीले स्वास्थ्य मन्त्रालयले स्वीकृति दिएको कोरोना भाइरसको ‘रेपिड एन्टिजन टेस्ट’ प्रत्येक हप्ता गर्नुपर्नेछ। खोप प्राप्त गरिसकेका, कोभिड भइ निको भइसकेका र कोभिडविरुद्धको खोप लगाउन नमिल्ने कर्मचारीको हकमा भने यो नियम लागू हुने छैन।

जमघट

इन्डोरमा जमघट वा भेला हुनु परेमा १५ जनासम्म पूर्णरुपमा कोभिडविरुद्धको खोप प्राप्त वा पाँचजना खोप नलिएका र मिश्रित समूह जमघट हुन सक्नेछन्। आउटडोरको सन्दर्भमा कोभिडविरुद्धको खोपको पूर्ण मात्रा लिएका ३० जनासम्म जमघट हुन पाउनेछन्। आउटडोरमा खोप नलिएका वा मिश्रित व्यक्तिको हकमा दश जनासम्म मात्र भेला हुन सक्नेछन्।

एउटै घरमा बस्दै आएका परिवारका सदस्यहरु पार्क, समुद्र किनार तथा कोर्निसमा जमघट हुन पाउनेछन्। पार्कहरुमा व्यक्तिगत रुपमा हिड्न, दौड्न तथा साइकल चलाउन पनि पाइनेछ।

त्यस्तै, खेलमैदान र कसरत गर्ने ठाउँहरू पनि सर्वसाधारणका लागि खुला गरिनेछ। निजी बिच (समुद्र किनार) ५० प्रतिशत क्षमतामा सञ्चालन गर्न पाइनेछ। कारमा चालकसहित एउटै परिवारको चार जनाभन्दा बढी व्यक्तिहरु सवार गर्न पाइने छैन।

बस तथा भ्यानहरुले आफ्नो सिट क्षमताको ५० प्रतिशतभन्दा बढी यात्रुहरु बोक्न पाउनेछैनन्।

एक्लै हिँड्दा वा आफ्नो परिवारसँग मात्रै कारमा यात्रा गर्दा बाहेक हरेक अवस्थामा बाहिर जाँदा सर्वसाधारणहरुलाई मास्कको प्रयोग अनिवार्य गरिएको छ। घरदेखि बाहिर जाँदा कोभिड–१९ कन्ट्याक्ट ट्रेसिङ एप ‘एहत्राज’ अनिवार्य रुपमा साथमा हुनुपर्नेछ।

त्यस्तै दैनिक तथा शुक्रबार गरिने प्रार्थनाको लागि मस्जिदहरु खुला रहनेछन्। तथापि सात वर्ष मुनिका बच्चालाई त्यहाँभित्र प्रवेश गर्न पाइनेछैन। त्यस्तै, शौचालय र एब्लुसन सुविधा पनि बन्द रहनेछन्।

विवाह

अधिकतम ८० जनाको क्षमता भएको होटलका विवाहहलमा विवाह सम्पन्न गर्न सकिनेछ। त्यसरी बिहेमा जमघट हुँदा कोभिडविरुद्धको खोप प्राप्त नगरेका १० जनाभन्दा बढीलाई सहभागी गराउन पाइनेछैन।

यातायात

मेट्रो तथा सार्वजनिक सवारीसाधनले ५० प्रतिशत क्षमतामा सेवा प्रवाह गर्न सक्नेछन्। तर, यात्रीहरुले ट्रेन वा बसमा खान या पिउन पाउने छैनन्। स्टेसनका ‘स्मोकिङ्ग जोन’ हरु बन्द नै रहनेछन्।

खेलकुद

त्यसैगरी, स्वास्थ्य मन्त्रालयबाट स्वीकृति प्राप्त स्थानीय तथा अन्तर्राष्ट्रिय खेलकुदको लागि गरिने पूर्वाभ्यासर तालिम दिने व्यवसायिक खेलकुद तालिम केन्द्र सञ्चालित हुन पाउनेछन्।

त्यसरी तालिम सञ्चालन गर्दा खुला क्षेत्र भएमा ३० जना एवं ‘इन्डोर’ भएमा १५ जना सम्म सहभागी गराउन सकिनेछ। यसरी सञ्चालन हुने खेलकुद क्रियाकलापमा सहभागी हुने सम्पूर्णले कोभिडविरुद्धको खोपको दुवै मात्रा पूरा गरेको हुनु पर्नेछ। प्रशिक्षण एवं तालिम सत्रमा खेल हेर्नको लागि दर्शकहरु भने उपस्थित हुन पाउने छैनन्।

स्वास्थ्य मन्त्रालयको स्वीकृतिमा मात्र स्थानीय तथा अन्तर्राष्ट्रिय खेलकुदको आयोजना गर्न पाइनेछ। यसरी खेलकुद आयोजना हुने क्षेत्रमा खुल्ला भएमा कुल सिट क्षमताको ५० प्रतिशत तथा बन्द क्षेत्र भएमा ३० प्रतिशत दर्शक मात्र उपस्थित हुन सक्नेछन्। त्यसरी उपस्थित हुने दर्शकमध्ये कम्तिमा ७५ प्रतिशतले पूर्णरुपमा कोभिडविरुद्धको खोपको मात्रा लिएको हुनुपर्नेछ। खोप प्राप्त नगरेका दर्शकको हकमा स्वास्थ्य मन्त्रालयले स्वीकृति दिएको ‘रेपिड एन्टिजन टेस्ट्’ अनिवार्य प्रस्तुत गर्नुपर्नेछ। सो परीक्षण २४ घन्टाभित्र मात्र गरिएको हुनुपर्नेछ।

मनोरञ्जन

मनोरन्जन पार्क तथा सबै मनोरञ्जन क्षेत्रहरु खुल्ला क्षेत्रमा ५० प्रतिशत, तथा बन्द क्षेत्रमा ३० प्रतिशत क्षमतामा सञ्चालन हुन पाउनेछन्। त्यहाँ उपस्थित हुने मध्ये ७५ प्रतिशतले कोभिडविरुद्धको खोप लिएको हुनुपर्नेछ।

त्यहाँ बच्चाहरु पनि उपस्थित हुन पाउनेछन् । तर, बच्चाको संख्या खोप प्राप्त नगरेका व्यक्तिमा गणना हुनेछ। त्यस्ता मनोरञ्जन क्षेत्रमा जाँदा २५ प्रतिशतभन्दा बढी खोप प्राप्त नगरेका व्यक्तिहरु प्रवेश गर्न पाउने छैनन्।

स्वास्थ्य तथा सरसफाइ सम्बन्धी

निजी रुपमा सञ्चालित स्वास्थ्य प्रदायक सेवा अब सतप्रतिशत क्षमतामै सञ्चालन हुन पाउनेछन्। त्यसरी सञ्चालन गर्दा सम्पूर्ण कर्मचारीहरु पूर्णरुपमा खोप प्राप्त भएको हुनुपर्नेछ।

सरसफाइ तथा हस्पिटालिटी सम्बन्धी कम्पनीले आफ्ना कर्मचारीले पूर्णरुपमा खोप लिएको खण्डमा मात्रै आफ्नो सेवा सञ्चालन गर्न सक्नेछन्।

सभा सम्मेलन तथा प्रर्दशनी

स्वास्थ्य मन्त्रालयको स्वीकृत प्राप्त गरेर मात्र ३० प्रतिशत क्षमता नबढ्नेगरी सभा सम्मेलन तथा प्रदर्शनीहरु गर्न पाइनेछ। त्यस्ता कार्यमा उपस्थित हुने सम्पूर्णले कोभिड विरुद्धको खोपको दुबै मात्रा लिइसकेको हुनुपर्नेछ।

मल तथा बजार

मलहरु ५० प्रतिशत क्षमतामा सञ्चालन हुन पाउनेछन्।

मलभित्र रहेका भोजन गृह ३० प्रतिशत क्षमताको हिसाबले चल्न पाउनेछन् भने ‘चेन्जिङ रुम’ बन्द नै रहनेछन्। प्रार्थना स्थल र शौचालय भने खुला नै रहनेछन्।

त्यसैगरी प्रसिद्ध बजार (शौक) अधिकतम ५० प्रतिशत क्षमताको हिसाबले चल्न पाउनेछन्।

होलसेल बजार पनि ५० प्रतिशत क्षमताको हिसाबले सञ्चालन हुन पाउनेछन्।

‘शौक’ तथा होलसेल बजारमा बालबालिकाहरु पनि प्रवेश गर्न पाउनेछन्।

रेष्टुरेन्ट तथा क्याफे

कतारको ‘क्लिन सर्टिफिकेट’ प्राप्त गरेका रेष्टुरेन्ट तथा क्याफेले सबै स्टाफ पूर्णरुपमा कोभिड विरुद्धको खोप प्राप्त गरेको भएमा कुल क्षमताको ५० प्रतिशत क्षमतामा ‘डाईन इन’ ईन्डोर तथा ५० प्रतिशत नै आउटडोरको हिसाबले सेवा सञ्चालन हुन पाउनेछन्।

उद्योग तथा वाणिज्य मन्त्रालयको सर्त पालना मात्र गर्ने रेष्टुरेन्ट तथा क्याफेको हकमा भने १५ प्रतिशत क्षमतामा ‘इन्डोर’ तथा ३० प्रतिशत क्षमतामा ‘आउटडोर’ सेवा सञ्चालन गर्न पाइनेछ। त्यसरी त्यहाँ आउने सेवाग्राहीहरुले खोपको दुवै मात्रा लिइसकेको हुनुपर्नेछ।

डुङ्गा तथा याच

यसपालिको नियममा डुङ्गा भाडामा लिएर चलाउन पाइने छ। त्यसैगरी ,याच (साना जहाज) पनि चलाउन पाइनेछ। यद्यपि त्यसरी डुङ्गा तथा याच चलाउँदा ५० प्रतिशत क्षमता वा बढीमा २० जना ननाघ्ने गरि मात्र चलाउन पाइनेछ।

डुङ्गामा सवार हुने व्यक्तिहरुले कोभिड विरुद्धको खोपको पूर्ण मात्रा लिएको हुनुपर्नेछ। डुंगामा चालकसहित ३ जनासम्म मात्र खोप नलिएका व्यक्ति रहन सक्नेछन्।

शैक्षिक संस्था, म्युजियम तथा पुस्तकालय

निजी शैक्षिक संस्था, तालिम केन्द्र तथा नर्सरीहरुले ५० प्रतिशत क्षमताको दरले सेवा प्रवाह गर्न सक्नेछन्। यसरी संचालन गर्दा सम्पूर्ण कर्मचारी तथा वयस्क ग्राहकमध्ये ७५ प्रतिशतले कोभिड विरुद्धको खोपको पुर्ण मात्रा लिएको हुनुपर्नेछ।

सार्वजनिक म्युजियम तथा पुस्तकालय हरुले ७५ प्रतिशत क्षमताको दरले सेवा प्रवाह गर्न सक्नेछन्।

अतिआवश्यक व्यक्तिको लागि शैक्षिक सेशनहरु चलाउन पाइनेछ। यसरी चलाइने सेसनमा पाँच जनाभन्दा बढी सहभागीहरु हुन पाइने छैन। सम्पूर्ण तालिमकर्ताहरु पूर्णरुपमा खोप प्राप्त भएको हुनुपर्नेछ।

ड्राइभिङ स्कुल, थिएटर, जीम, सैलुन, मसाज सेन्टर तथा स्नान गृह

सम्पूर्ण कर्मचारीले पूर्णरुपमा खोप लगाएको खण्डमा ड्राइभिङ स्कुल ५० प्रतिशत क्षमताको हिसाबले सञ्चालन हुनेगरि खोल्न पाइने छ।

त्यसैगरी थिएटरले ३० प्रतिशत क्षमताको दरले सेवा प्रवाह गर्न पाउनेछन्। त्यसरी सेवा प्रवाह गर्दा कम्तीमा पनि ७५ प्रतिशत सेवाग्राहीले कोभिड विरुद्धको खोपको पूर्ण मात्रा लिएको हुनुपर्नेछ। थिएटरमा बालबालिकाहरुले पनि प्रवेश पाउनेछन् ,तर ती बालबालिकाहरु खोप नलगायकोमा गणना गरिनेछ। खोप नलगाउने सेवाग्राहीको संख्या थिएटरमा २५ प्रतिशतभन्दा बढी हुन पाइनेछैन।

त्यस्तै,ब्युटिपार्लर र शैलुनले पनि आफ्नो सेवा ५० प्रतिशत क्षमतामा प्रवाह गर्न पाउने छन्। सेवा प्रवाह गर्दा कुल सहभागीको ७५ प्रतिशतले कोभिड विरुद्धको खोपको पूर्ण मात्रा लिएको हुनु पर्नेछ।

जीम, मसाज,स्टिम् रुम तथा टर्किस बाथको सेवा प्रवाह गर्नेले ४० देखि अधिकतम ५० प्रतिशत क्षमता सम्म सेवा प्रवाह गर्न सक्नेछन्‌।

इन्डोर पुलको सन्दर्भमा ३० प्रतिशत क्षमतामा मात्रै सेवा प्रवाह गर्न पाइनेछ। आउटडोर पुल तथा वाटरपार्कहरुले ४० देखि ५० प्रतिशत क्षमतामा सेवा प्रवाह गर्न पाउनेछन्। त्यहाँ सेवा लिन आउनेमध्ये कम्तिमा ७५ प्रतिशतले कोभिड विरुद्धको खोपको पूर्ण मात्रा लिएको हुनुपर्नेछ। बालबालिकाले पनि त्यहाँ प्रवेश पाउने छन् तर ती बालबालिकाहरु खोप नलिएकामा गणना हुनेछन्।