एनआरएनए कोरिया निर्वाचन : उपाध्यक्ष पदमा ७० लाखको बार्गेनिङ !

एनआरएनए कोरिया निर्वाचन : उपाध्यक्ष पदमा ७० लाखको बार्गेनिङ !

सौल । गैरआवासीय नेपाली संघ (एनआरएन) दक्षिण कोरियाको आशन्न निर्वाचनको लागि आर्थिक लेनदेनको बार्गेनिङ भएको छ।

उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका मनोज गौतमसँग सोही पदमा दावेदारी दिएका अर्का दुई प्रतिद्वन्दीले आर्थिक बार्गेनिङ गरेका हुन्।

उनीहरुले सुरुमा गौतमलाई चुनावी मैदान छोड्न दवाव दिएका थिए । गौतमले उनीहरुको दवावलाई वेवास्ता गर्दै पछाडि नहट्ने अडान लिएपछि उल्टै पैसाको माग गरिएको हो । ‘निर्विरोध चयन हुने भए हामीलाई ७० लाख कोरियन ओन दिनु भनेर बारम्बार फोन गरेर मलाई दवाव दिएका हुन्,’ गौतमले प्रवास खबरसँग भने ।

आफूले उनीहरुको प्रस्तावलाई ठाडै अस्वीकार गरिदिएको गौतमको भनाइ छ । ‘बरु चुनावमा एक भोट ल्याउँला , त्यसमा खुशी हुनेछु । तर, फोहोरी खेलमा कहिले पनि मैले सम्झौता गर्दैन,’ गौतमले भने।

आफूले पद र पैसाको मोहले उपाध्यक्ष पद रोजेको नभई संस्थाको हितको लागि उम्मेदवारी दिएको गौतमले बताए। उनले भने, ‘मैले पद र पैसाको लागि उपाध्यक्ष रोजेको होइन । कोरियावासी नेपालीको हित र संस्थालाई मजबुत बनाउन मेरो उम्मेदवारी हो।’

गौतमले आफूले कुनै पनि हालतमा चुनावी मैैदान नछोड्ने दावी गरेका छन् । ‘सामाजिक संघ–संस्थामा सेवा गर्न आउँदा पैसाको चलखेल गर्नु हजारौँ नेपाली श्रमिकको मुद्दामाथि खेलवाड गर्नु हो,’ गौतमले आक्रोशित हुँदै भने, ‘यस्ता विचौलियलाई कानूनी कारवाहीको दायरा ल्याउनुपर्छ।’

संघको आउँदो कार्यकालको लागि १८ जुलाइमा निर्वाचन तालिका तय भएको छ । संघको ४ जुलाइमा अधिवेशन सम्पन्न भएको थियो । आकंक्षीले ५ र ६ जुलाइमा उम्मेदवारी दर्ता गराएका थिए ।

उम्मेदवारी दर्ता गराएको ४ घण्टा नबित्दै मध्यरातमा ‘सहमती गरौँ’ भन्दै फोन गरेर पैसाको बार्गेनिङ गरिएको गौतमको दावी छ।



No ads found for this position