कोरोनाको समयमा पनि साउदी अरबमा नेपाली कामदारको माग उच्च

कोरोनाको समयमा पनि साउदी अरबमा नेपाली कामदारको माग उच्च

काठमाडौं।कोरोना भाइरसका कारण मध्यपूर्वी देशले वैदेशिक रोजगारीमा अतिरिक्त सावधानी अपनाए पनि साउदी अरबमा नेपाली कामदारको माग बढेको छ।

साउदीमा ३५ हजार नेपाली कामदारलाई भित्र्याउन त्यहाँको सरकारले मागपत्र प्रमाणिकरण गरेको श्रम सहचारी जीवन राईले बताएका छन्।

वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा साउदी अरबका लागि नेपाली श्रम सहचारी राईले भने, ‘हालसम्म ३६ सय फाइलबाट ३५ हजार नेपाली ल्याउनका लागि मागपत्र प्रमाणिकरण भएको छ। यहाँ नेपालीको माग राम्रो छ।’

कोरोनाका कारण अहिले मलेसियामा रोजगारीको अवसर स्थगन छ। यस्तै, युनाइटेड अरब इमिरेट्स (यूएई) मा पनि कोटा सिमित बनाइएको छ।

साउदीमा माग भएका कामदारमा ‘लेबर कोटा’ बढी छ।

उनले साउदीमा हाल २५ जना कामदारको शव रहेको पनि जानकारी दिए। वाइडबढी जहाज आएमा २ वटा फ्लाइटमा सबै शव पठाउन सकिने उनको भनाई थियो। न्यारोबढीको जहाजले मात्र साउदीको उडान भरेको हुनाले एउटा फ्लाइटमा बढीमा २ वटा लाश पठाउन मिलेको उनको भनाई थियो।

यस्तै, साउदी जान चाहने नेपालीले त्यहाँको सरकारले तोकेको होटलमा क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यता छ। साउदीमा सयभन्दा बढी क्वारेन्टाइन तोकिएको छ भने खर्च कामदार आफैले व्यहोर्नुपर्ने भनिएको छ।