उडान पर्याप्त नहुँदा मलेसियामा ५२ नेपालीको शव अलपत्र

उडान पर्याप्त नहुँदा मलेसियामा ५२ नेपालीको शव अलपत्र क्वलालम्पुर

काठमाडौं। नेपाल र मलेसियाबीच पर्याप्त उडान नहुँदा मलेसियाबाट ५२ वटा शव पठाउन अफ्ठेरो भएको श्रम सहचारी दिपक ढकालले बताएका छन्।

वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा यसको जानकारी दिँदै मलेसियाका लागि श्रम सहचारी ढकालले भने, ‘मलेसियामा १ वर्षमा १ सय ५० बढी नेपालीको निधन भएको छ। कोरोनाका कारण उडान नियमित नहुँदा ५२ वटा शव पठाउन सकिएको छैन।’

काठमाडौं–क्वालालम्पुर हवाई उडान हाल सातामा तीन वडा मात्र भइरहेको छ। नेपाल सरकारले न्यारोबढीबाट शव ल्याउने कार्यलाई अगाडी बढाउँदा थप समस्या भएको ढकालले बताए।

‘न्यारोबढी जहाजबाट एक पटकमा १ वटा मात्र शव नेपाल पठाउन सकिन्छ। यसले गर्दा थप समस्या परेको हो,’ उनले भने, ‘वाइडबढी जहाजबाट शव ल्याउने हो भने १६–१७ वटा शव ल्याउँदा ४ उडान काफी हुन्छ।’

उनले मलेसियामा नेपाली कामदारको माग भएपनि कोरोनाका कारण सरकारले खोल्न नचाहेको बताए। ‘बरु अहिले मलेसियामा रहेका धेरै नेपाली घर फर्किन चाहेका छन्,’ उनले भने, ‘सातामा ३ उडान हुन्छ। अहिले तीन साताको लागि उडान प्याक छ। टिकट पनि महंगो छ।’

मलेसियाली सरकारले महामारीको मात्रा हेरेर कामदार लिने योजना बनाएको पनि उनले बताए। ‘डिसेम्बरदेखि नर्मल भयो भने कमदार लिने अपेक्षा गरिएको छ,’ उनले भने।



No ads found for this position