संस्कारविहिन नेतृत्वको अभ्यास

संस्कारविहिन नेतृत्वको अभ्यास

गैरआवासीय नेपाली संघ (एनआरएनए)को सबैभन्दा प्रभावशाली मानिने एनसीसी (राष्ट्रिय समन्वय परिषद्) अमेरिकाको निर्वाचन गत महिना सम्पन्न भयो।

यसपालि चुनावमा बुद्धिसागर सुवेदी, कृष्ण लामिछाने र डा.अर्जुन बन्जाडेको टोली मैदानमा उत्रिएका थिए, जसमा बाजी मारे, बुद्धिसागर सुवेदीले। र, उनी २०२१–२३ सम्मका लागि अध्यक्ष निर्वाचित भए।

एनआरएनए आइसीसीको विधानअनुसार जुलाई महिनाभित्र एनसीसीहरूले अनिवार्य निर्वाचन सम्पन्न गराइसक्नुपर्ने हुन्छ। तर, एनसीसी अमेरिकाको हकमा स्थानीय निकायमा दर्ता भएका कारण उसले त्यहाँको नियमअनुसार जुलाइ अगावै सम्पन्न गरेको थियो।

निर्वाचन सम्पन्न भएपनि साधारण सभा नभएका कारण सुनिल साह नेतृत्वको पुरानो कमिटीले नवनियुक्त सुवेदीको कमिटीलाई कार्यभार हस्तान्तरण गर्न सकेको थिएन। यसैबीच जुलाइमा साधारण सभा सम्पन्न गरेर नयाँ कमिटीलाई कार्यभार सुम्पिने सहमति बनेको थियो।

सहमति अनुसार साहले ३–४ जुलाइका लागि साधारण सभा तोकेका थिए। साधारण सभामा विशेष अतिथिको रूपमा एनआरएनएको अभियानमा लामो समयदेखि जुडेका तथा हाल संघको उपाध्यक्ष रहेका डा. बद्रि केसीलाई विशेष अतिथिको रूपमा निम्त्याएको थियो।

३ जुलाइमा साधारण सभाको उद्घाटन भब्य अनि शब्य रहयो। तर, ४ तारिखमा साहको कार्यकालमा भएको आयव्यय साधारण सभाबाट पास गराउन नपाउँदै नवनियुक्त अध्यक्ष बुद्धिसागर सुवेदी पक्षधरहरूले अप्रत्यासीत रूपमा मञ्चमा झै–झगडा गरे।

यो घटनामा सुवेदी पक्षका केही पदाधिकारी साह कमिटीको पुरानो हरहिसाब साधारण सभाबाट पास गर्न नदिने मनसायका साथ प्रस्तुत भएको देखिन्छ।

अहिले झगडाको मुख्य दोषी पूर्वअध्यक्ष समेत रहेका डा. केशव पौडेल देखिनुले सबैलाई हैरान बनाएको छ। उनी सुवेदी पक्षधर मानिन्छन्।

सामान्यतया कुनै पनि संघ–संस्थामा नयाँ कार्यसमितिलाई जिम्मेवारी सुम्पिनुअघि पुरानो कमिटीले आफ्नो कार्यकालमा भएको आयव्यय साधारण सभाबाट पारित गर्नुपर्ने हुन्छ। यो सर्वमान्य र कानूनी प्रक्रिया हो। तर, यो प्रक्रिया पूरा नहुँदै नेतृत्व हस्तान्तरणका लागि डा.पौडेलले निहुँ खोज्नु, आफैमा ठूलो बिडम्बना हो। यो घटनाले कि उनी कानूनी कुराका जानकार छैनन भन्ने प्रस्ट हुन्छ ? नभए उनी कसैबाट परिचालित छन् भन्ने पक्का छ।

यो काण्डमा होटलका सुरक्षागार्ड मञ्चमा प्रवेश गर्ने वातावरण सिर्जना गराउनु नवनियुक्त अध्यक्ष सुवेदीका लागि सुखद कुरा पककै होइन। उनी यो पदका लागि अजम्बरी पनि होइनन्। उनको कार्यकाल संस्थाको नियम मिचेर र नेपाली–नेपालीबीच ‘कुटाकुट’ बाट सुरु भएको छ। दुई वर्षको उनको आगामी कार्यकाल कस्तो हुन्छ ? यसको अन्दाज यहीबाट लगाउन सकिन्छ।

अमेरिका सबै नेपालीका लागि सपनाको देश हो। अमेरिकामा बसोबास गर्ने नेपालीलाई विशिष्ट नागरिकको रुपमा हेर्ने गरिन्छ। तर, यो काण्डले अमेरिकामा बसोबास गर्ने सबै नेपालीको शिर निहुर्‍याएको छ। र, यसको ‘खलपात्र’ डा. पौडेल देखिएका छन्। पौडेल व्यक्ति मात्र होइनन्, एउटा प्रवृत्ति पनि हो। यस्तो प्रवृत्तिलाई अध्यक्ष सुवेदीले बोकेर हिँडेको खण्डमा एनसीसी अमेरिकालाई ‘रामराम भन्न सकिन्छ, सति जान सकिन्न’।

अहिले यो घटनालाई ढाकछोप गर्न डा. बद्रि केसीलाई पोल्ने काम भएको देखिन्छ। केसी एनआरएनएका उपाध्यक्ष भएका कारण यो कार्यक्रममा निम्त्याइएका हुन्। उनले घटनालाई बल पुर्‍याउने गरी साधारण सभामा उत्तेजित भाषण पनि गरेका थिएनन्। उनी एनआरएनएको आगामी निर्वाचनमा अध्यक्षको बलियो प्रत्यासी हुन्। त्यसैले यो घटनामा उनलाई मुछेर किन बदनाम गराउने प्रयास भइरहेको छ ? त्यो प्रस्ट बुझन सकिन्छ।

नेपालीमा एउटा उखान छ–‘कुरो र कुलोलाई जता मोड्यो उतै मोडिन्छ।’ अहिले अमेरिकामा भएको घटनालाई यसरीनै मोड्ने प्रयास भइरहेको छ। तर, वास्तवमा सबैले बुझ्नु पर्ने भनेको प्रक्रियागत कुरा हो।

यो निर्वाचनमा सुवेदी विजयी भएपछि सुनिल साहले उनलाई नेतृत्व हस्तान्तरण गर्दिन भनेका पनि थिएनन्। सुवेदीलाई नेतृत्व हस्तान्तरण गर्नकै लागि भनेर ३–४ जुलाइमा साधारण सभा तोकिएको हो। साधारण सभामा अपनाउनु पर्ने कानूनी प्रक्रिया पूरा गरेर सौहार्दपूर्ण रूपमा सुवेदीलाई नेतृत्व हस्तान्तरण गर्न चाहन्थे, साह।

तर, कानूनी प्रक्रियालाई वेवास्था गर्दै आफैले जितेको सपथ खान हतारिनु कुनै पनि दृष्टिकोणले राम्रो संस्कार मानिदैन। जुन संस्कार सुवेदी पक्षले देखाएको छ। यसले अमेरिकामा रहेका नेपाली मात्र होइन, विदेशको अन्य कुनामा रहेका नेपालीको शिर लाजले निहुरिएको छ।