यूएई कोरोनाविरूद्धको खोप लगाउने सबैभन्दा प्रभावकारी देश घोषित

यूएई कोरोनाविरूद्धको खोप लगाउने सबैभन्दा प्रभावकारी देश घोषित

दुबई।युनाईटेड अरब इमिरेट्स (यूएई) विश्वको सबैभन्दा बढी खोप लगाउने देश बनेको छ। ब्लुम्बर्ग भ्याक्सिन ट्रयाकरका अनुसार यूएईमा १ करोड ५५ लाख खोप खपत भइसकेको छ।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत हालसम्म देशको जनसंख्याको ७२ दशमलव १ प्रतिशत व्यक्तिले कोरोनाविरूद्ध खोप लगाइसकेका छन्। यसअघि देशको जनसंख्याको हिसाबले सबैभन्दा बढी खोप लगाउने देशमा सेचेल्स अगाडी थियो।

स्वास्थ्य मन्त्री अब्दुल रहमान बीन मोहम्मद बीन नासिर अल ओवाइसले कोभिड–१९ महामारीविरूद्धको अभियानमा देशको उपलब्धीलाई लिएर खुसी व्यक्त गरे।

‘देशको सक्षम नेतृत्वपंक्तिको दुरदृष्टीकै कारण कोभिड–१९ विरूद्धको चुनौतीलाई सम्बोधन गर्न सफल भएका हौं,’ उनले भने। आइतबार मात्र यूएईको स्वास्थ्य मन्त्रालयले आपतकालीन अवस्थाका लागि मोडर्ना खोपलाई मन्जुरी प्रदान गरेको थियो।

मोडर्ना कोभिड–१९ को नयाँ भेरियन्ट बेटा, डेल्टा र अल्फा भाइरसविरूद्ध लड्न उपयोगी मानिन्छ। मन्त्रालयले आइतबार १५ सय ९९ नयाँ कोरोना संक्रमित भेटिएको र तीन जनाको निधन भएको जानकारी पनि दिएको थियो।