कुवेतमा ‘होम डेलिभरी’ मा काम गर्ने श्रमिक उच्च जोखिममा

कुवेतमा ‘होम डेलिभरी’ मा काम गर्ने श्रमिक उच्च जोखिममा

कुवेत।कुवेतमा अत्याधिक गर्मी बढेपछि मोटर साइकलमा ‘होम डेलिभरी’ गर्ने कार्यमा रोक लगाउन सरकारसमक्ष श्रमिक भेलाको कार्यकारी समितिले माग राखेको छ।

यसै साता कुवेत विश्वकै सबैभन्दा गर्मी देशको सूचीमा पहिलो नम्बरमा परेको थियो। अहिले पनि यहाँको तापक्रम ५० डिग्रीको हाराहारीमा छ।

कुवेतमा सरकारले यही महिनादेखि लागु हुने गरि घाममा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म काम लगाउन नपाउने नियम बनाएको थियो। कम्पनीमा कार्यरत कामदारको हकमा सरकारले कडाईका साथ नीति नियमको परिवेक्षण गर्दै आए पनि ‘होम डेलिभरी’ मा खासै चासो राखेको छैन। यसै कारण ‘होम डेलिभरी’ मा काम गर्ने व्यक्तिहरूको स्वास्थ्य तथा सुरक्षाका लागि आफूहरूले माग राख्नु परेको श्रमिक भेलाको कार्यकारी समितिले आइतबार विज्ञप्ती निकाल्दै जानकारी दिएको छ।

‘होम डेलिभरी’ मा काम गर्नेका लागि सडक विभागले हाईवे भन्दा पनि भित्री बाटो सुरक्षित हुने बताए पनि कार्यकारी समितिले कामदारको ज्यान जोखिममा राख्न नसकिने स्पष्ट पारेको छ। ‘हामीले गम्भीर थकानको थुप्रै घटना देखेका छौं,’ श्रमिक भेलाको कार्यकारी समितिले भनेको छ, ‘त्यसैले हामी जोखिम उठाउन सक्दैनौं।’