शारजहामा कोभिड–१९ को नियम तोड्ने २१ हजार बढी मानिसलाई जरिवाना

शारजहा।कोभिड–१९ सँग जोगिन सरकारले लागू गरेको नियम तोडेको आरोपमा युनाईटेड अरब इमिरेट्स (यूएई) को शारजहा प्रहरीले यो जुन महिनाको अवधिमा २१ हजार २ सय ६६ जनालाई जरिवाना गरेको छ।
शारजहा प्रहरी प्रमुख सैफ अल जेरी अल साम्सीले बताएअनुसार कोरोना फैलिनसक्ने स्थान आवासीय, कमर्शियल तथा औधोगिक क्षेत्रमा सावधानी अपनाउँदा यो परिणाम आएको हो।
स्वास्थ्य सुरक्षाका लागि खटिएको प्रहरीको युनिटले मास्क नलगाएर हिँडेका थुप्रै व्यक्तिलाई जरिवाना गरेको हो। शारजहामा यो साधारण समस्या बनेको छ। यस्तै, भाडाको गाडीमा तीन जनाले यात्रा गरेको घटना पनि सामान्य बनेको थियो।
शारजहाको प्रशासनले कोभिड–१९ विरूद्धको स्वास्थ्य नियम कडाईका साथ लागु गर्न उच्च प्रविधि प्रयोग गरेको थियो। जसका कारण यति धेरै मात्रामा मानिस पक्राउ परेका हुन्। प्रहरीले ज्वरो तथा फ्लुको लक्षण देखिएका मानिस इन्डोरमा मास्क नलगाई घुमिरहेको अवस्थामा धेरैलाई फेला पारेका थिए।
प्रहरी प्रमुख साम्सीले कोभिड–१९ विरूद्धको स्वास्थ्य अभियानलाई आफूहरूले जारी राखेको र मानिसलाई जागरुक बनाउन कार्यक्रम गरिरहेको बताए।