पशुपति शमशेर राणाकी छोरी देब्यानी बहुराष्ट्रिय कम्पनी कोका–कोलाको महत्वपूर्ण पदमा

पशुपति शमशेर राणाकी छोरी देब्यानी बहुराष्ट्रिय कम्पनी कोका–कोलाको महत्वपूर्ण पदमा

काठमाडौं।नेपाली चेली तथा राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाकी छोरी देब्यानी राज्यलक्ष्मी राणालाई बहुराष्ट्रिय कम्पनी कोका–कोलाले महत्वपूर्ण पदमा नियुक्त गरेको छ।

कुनै बेला नेपालका पूर्व युवराज दिपेन्द्र शाहसँग ‘लभ अफेयर’ का कारण चर्चाको शिखरमा रहेकी दिब्यानीलाई भारत तथा दक्षिणपूर्वी एसियाको सार्वजनिक मामिला, सञ्चार तथा दिगोपनाको उपाध्यक्ष नियुक्त गरिएको कम्पनीले बताएको हो। उनी कोका–कोलाको ‘लिडरशीप टिम’ मा रहेर काम गर्नेछिन्।

विगत २५ वर्षदेखि सरकारी तथा औधोगिक क्षेत्रमा काम गरेको अनुभवको आधारमा उनलाई कम्पनीले महत्वपूर्ण जिम्मेवारी दिने निर्णय गरेको बताएको छ। उनको कार्यकालमा कम्पनीले आफ्नो लक्ष्य तथा उद्देश्यलाई चुम्ने विश्वास पनि लिएको छ।

पूर्ननिर्माण, पर्यावरण, सामाजिक तथा प्रशासनीक, परिणाममुखी व्यवसाय, व्यापार र कोको–कोलाको प्रभाव घरेलु तथा निर्यात बजारमा अभिबृद्धि गर्न उनले प्रभावकारी रणनीति अवलम्बन गर्ने कुरामा कम्पनीले आशा राखेको छ।

भारत तथा दक्षिणपूर्वी एसियाका अध्यक्ष संकेत रेले देब्यानीलाई कम्पनीको अभियानमा जोड्न पाउँदा आफूलाई खुसी लागेको बताएका छन्। यसअघि देब्यानीले क्याटपिलर भारतको सामाजिक मामिला निर्देशकको रुपमा रहेर भारत, नेपाल र भुटानमा काम गरेकी थिइन।

उनले युएनडिपी, युएन, वर्ल्ड इकोनोमिक फोरम जस्ता अन्तर्राष्ट्रिय संस्थामा बसेर पनि काम गरिसकेकी छिन्। देब्यानीले लण्डन स्कुल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्समा अध्ययन गरेकी थिइन। उनले त्रिभुवन विश्वविधालयबाट पोलिटिकल साइन्समा स्नाकोत्तर गरेकी छिन्।