साउदीमा एक सातामा करिब २० हजार व्यक्तिद्वारा नियम उल्लंघन, २२४ पक्राउ

साउदीमा एक सातामा करिब २० हजार व्यक्तिद्वारा नियम उल्लंघन, २२४ पक्राउ

रियाद। साउदी अरेबियामा एक साताभित्र करिब २० हजार व्यक्तिले यहाँको नियम तोडेको रिपोर्ट सरकारले जारी गरेको छ।

सरकारले हालै सार्वजनिक गरेको रिपोर्टमा २४–३० जुनसम्म गरिएको निरीक्षण अभियानको क्रममा त्यस्ता उल्लंघनका घटनाहरु फेला परेका हुन्।

उक्त रिपोर्ट अनुसार १९ हजार ८ सय १२ जनाले आवासीय, रोजगारी तथा सीमा सुरक्षासम्बन्धि नियम उल्लंघन गरेको उल्लेख छ। त्यस्तै, देशका विभिन्न क्षेत्रमा आवासीय नियम उल्लंघन गर्नेमा ८ हजार ५ सय ७०, रोजगारसम्बन्धि नियम उल्लंघन गर्नेमा ९ सय ४७ तथा सीमा नियम उल्लंघन गर्नेमा १० हजार २ सय ९५ रहेको उल्लेख छ।

त्यस्तै, रिपोर्टमा जबरदस्ती साउदी नाका ओहोर–दोहोर गर्न खोज्ने २ सय २४ जनालाई पक्राउ गरिएको बताइएको छ। जसमध्ये ४३ प्रतिशत यमनी नागरिक, ४७ प्रतिशत इथोपियन, ५ प्रतिशत सोमाली र ५ प्रतिशत अन्य देशका नागरिक रहेको बताइएको छ।

यसैसन्दर्भमा आन्तरिक मन्त्रालयले कुनै किसिमका नियम उल्लंघनका घटना पाइएमा टोल फ्री नम्बरहरुमा रिपोर्ट गर्न सर्वसाधारणमा अनुरोध गरेको छ। मक्का र रियाद क्षेत्रको लागि टोल फ्रि नम्बर ९११ तथा राज्यका अन्य क्षेत्रको लागि टोल फ्री नम्बरहरु ९९९ र ९९६ मा जानकारी दिन आग्रह गरिएको छ।



No ads found for this position