खोप खरिदमा भ्रष्टाचार भएको भन्दै ब्राजिल राष्ट्रपतिविरूद्ध छानवीनको आदेश

खोप खरिदमा भ्रष्टाचार भएको भन्दै ब्राजिल राष्ट्रपतिविरूद्ध छानवीनको आदेश

रियो। ब्राजिलमा कोरोनाको खोप खरिदमा भएको भ्रष्टाचारले उग्र रूप धारण गर्न थालेपछि यहाँको सर्वोच्च अदालतले राष्ट्रपति जायर बोल्सोनारोविरूद्ध छानवीनको आदेश दिएको छ।

स्थानीय पत्रिकाका अनुसार भारतसँग भएको बायोटेक खोपको खरिदमा भएको घोटालालाई लिएर अदालतले यस्तो निर्णय सुनाएको हो। जी–१ वेभसाइटका अनुसार खोपको मूल्यभन्दा बढी रकम खर्च गरेको भन्दै अदालतले छानवीनको आदेश दिएको हो।

गत साता एस्टाडो डि साओपाउलो पत्रिकाले ब्राजिल सरकारले २ करोड डोजको लागि सम्झौंता गरेको समाचार प्रकासित गरेको थियो। एक डोजको मूल्य १५ डलर तय गरिएको थियो।

दिल्लीस्थित ब्राजिल दुतावासको एउटा गोप्य सूचनामा भनिएको छ, एक डोजको मूल्य १ डलर ३४ सेन्ट पर्न आउछ। गोप्य सूचना सार्वजनिक भएपछि विपक्षी सासंदले छानवीनको माग गरेका थिए।

वेभ साइटका अनुसार ९० दिनभित्र छानवीनको पक्रिया पुरा गरेर रिपोर्ट अदालतमा पेश गर्न भनिएको छ। भ्रष्टाचार रोक्न राष्ट्रपतिले कदम चालेका थिए कि उनी पनि यसमा समावेश थिए, यसको पनि छानवीन गर्न भनिएको छ।

ब्राजिल सरकारले कोभ्याक्सिनको २ करोड डोजका लागि ३२ दशमलव ४ करोड डलरको सम्झौंता गरेको थियो। अहिले करार अस्थायी रुपमा रद्ध गरेको समाचार बाहिर आएको छ।

अमेरिका र भारतपछि ब्राजिल विश्वको तेस्रो सबैभन्दा प्रभावित देश हो। यहाँ संक्रमणकै कारण ५ लाख २२ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। ब्राजिलमा हालसम्म १ करोड ८६ लाख मानिस संक्रमित भएका थिए। दुई दिनअघि मात्र यहाँ ६५ हजार मानिस संक्रमित भएको रिपोर्ट सार्वजनिक भएको थियो।