मानव तस्करी रोक्न कतारले गरेको प्रयासको अन्तर्राष्ट्रियस्तरमा प्रशंसा

अमेरिकाद्धारा अवार्ड प्रदान

मानव तस्करी रोक्न कतारले गरेको प्रयासको अन्तर्राष्ट्रियस्तरमा प्रशंसा

दोहा। कतारले आप्रवासी श्रमिककोे अधिकार संरक्षणका लागि गरेको प्रयासको उच्च मूल्यांकन भएको छ।

सन् २०२१ को ‘ट्राफिकिङ्ग इन् पर्सन’ (टिआइपी) को रिपोर्ट प्रस्तुत गर्दै अमेरिकी विदेश सचिव एन्टोनी क्लिन्टनले कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयअन्तर्गत श्रम मामिलाका सहायक सचिव मोहम्मद हसन अल ओबैदलीलाई ‘मानव तस्करी नियन्त्रणको नायक मध्येको एक’ संज्ञा दिँदै अवार्डबाट पुरस्कृत गरे।

भर्चुअलमार्फत गरिएको सम्मान मानव बेचबिखनविरूद्धको लडाइमा असाधारण प्रतिबद्धता देखाउने व्यक्तिलाई प्रदान गरिन्छ। समारोहमा विश्वभरका कूल आठ व्यक्तिलाई सम्मान गरिएको थियो।

अन्तर्राष्ट्रिय मापदण्ड र ‘कतार नेशनल भिजन २०३०’ को लक्ष्य अनुरुप प्रवासी श्रमिक र उनीहरूको अधिकारको संरक्षण गर्नसमेत कतार सफल भएको बताइएको छ।

कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले श्रम कानुनको विकासमा राज्यको प्रयासलाई सहयोग पुर्याउन सोही अनुरुप काम गरेको बताइएको छ।

मानव तस्करीविरुद्ध लड्न राष्ट्रिय समितिले बाँकी मन्त्रालय र सम्बन्धित अधिकारीको सहयोगमा कतारले अनुमोदन गरेको मानव बेचबिखन नियन्त्रण र सन्धि सम्झौतामा रहेको प्रावधानअनुरुप प्रवासी श्रमिकलाई सुरक्षा प्रदान गर्ने राज्यको प्रयासमा समन्वय गरेको थियो।

अमेरिकी बिदेश बिभागले मानव तस्करी रोक्न राष्ट्रिय समितिले गरेको कार्यमार्फत श्रमिकको अवस्था सुधार गर्न र उनीहरुलाई श्रमशोषण हुनबाट रोक्नको लागि श्रम सुधार लागू गर्ने कतारको प्रतिबद्धताको समेत उच्च प्रशंसा गरेको थियो।

‘काफला’ प्रणाली सुधार गर्न कतारले गरेको प्रयास, श्रमिकको अधिकार हनन्को विषयमा गरेको सम्बोधन र प्रवासी श्रमिकको अधिकारलाई अभिवृद्धि गर्ने नीति तथा कार्यक्रमको कार्यान्वयन गर्ने प्रयासको लागि कतारलाई सम्मान गरिएको बताइएको छ।

एजेन्सी