कुवेतमा फार्महाउसको आवरणमा लागूऔषध र वेश्यालयको धन्दा !

कुवेतमा फार्महाउसको आवरणमा लागूऔषध र वेश्यालयको धन्दा !

कुवेत सिटी । कुवेतको रहिया मरुभूमिमा रहेको एक फार्महाउसमा लागूऔषध र वेश्यालय सञ्चालन गरेको पाइएको छ।

जाहरा प्रहरीले कुवेत नगरपालिकाको सहयोगमा रहियाको मरुभूमिमा रहेको एक फार्ममा राति छापा मार्दा सो कुरा पत्ता लागेको हो।

सञ्चालकले सो फार्महाउसलाई डिस्कोथेक र वेश्यालयमा परिणत गरेको पाइएको छ।

रातको समयमा छापा मार्ने क्रममा त्यहाँ पार्टीहरु चल्दै थियो। सो फार्मभित्र ’बुंज’ का बोतलहरु (स्थानीय रुपमा निर्मित गरी आयात गरिएका, केही खाली समेत), महिलाका लुगाहरु र प्रतिबन्धित लागूऔषध फेला पारेका छन्।

फार्महाउस भनि सञ्चालन गरिँदै आएको सो कम्पाउन्डभित्र प्रि– फेब्रिकेटेड घरहरु बनाइएको थियो, जहाँ पार्टीमा आएका व्यक्तिहरुलाई मनोरन्जन गर्न भनेर प्रशस्तै ‘बेडरुम’ उपलब्ध थिए।

अज्ञात स्रोतबाट सूचना प्राप्त भएपछि प्रहरीले सो स्थानमा छापा मारेको थियो। प्रहरीले त्यहाँ छापा मार्नुभन्दा पहिले त्यहाँका मानिसहरु हतारहतारमा भागेको बुझिएको छ।

प्रहरी पुग्दा बुंजका बोतलहरु (केही आधा बोतलहरु) र महिलाले साँझमा लगाउने ‘गाउन’ का साथै ’मेकअप’ सेट जताततै छरिएका थिए।

स्रोतले बताएअनुसार प्रहरीले छापा मार्ने क्रममा भेटिएका सम्पूर्ण सामग्रीहरु बरामद गरेको छ। त्यस्तै, कुवेत नगरपालिकाको सहयोगमा सो फार्महाउसलाई नष्ट गरिएको छ।

यस सम्बन्धमा थप प्रहरी अनुसन्धान भइरहेको बताइएको छ।

(एजेन्सीको सहयोगमा)