यूएईका नागरिक नेपाल जान नपाउने

यूएईका नागरिक नेपाल जान नपाउने

दुबई । यूएईले आफ्नो देश प्रवेशमा राेक लगाएका नेपालसहितका मुलुकहरुमा आफ्ना नागरिकलाई समेत यात्रा गर्न प्रतिबन्ध लगाएको छ।

यूएई कोरोना संक्रमण फैलिने डरले नेपालसहित अन्य केही देशका नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएकाे थियो । उसले कोभिडको ‘उच्च जोखिम’ मुलुकको सूचीमा राख्दै नेपालसहितका देशका श्रमिकहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाउँदै आएको छ।

उसले नेपालसहितका १४ देशहरुमा आफ्ना नागरिकहरूलाई यात्रा प्रतिबन्धको घोषणा गरेको हाे। यूएईको वैदेशिक मामिला एवम् अन्तर्राष्ट्रिय समन्वय मन्त्रालय तथा राष्ट्रिय आपतकालिन तथा विपद् व्यवस्थापन प्राधिकरणले हालै सो घोषणा गरेका हो।

त्यसरी यात्रा प्रतिबन्ध लगाइएका मुलुकहरुमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का भियतनाम, नामिबिया, जाम्बिया, गणतान्त्रिक कङ्गो, युगान्डा, सिएरा लियोन, लाइबेरिया, दक्षिण अफ्रिका र नाइजेरिया रहेका छन्।

यूएईका कुटनीतिक नियोग प्रतिनिधि, आपतकालिन स्वास्थ्यकर्मी, आधिकारीक प्रतिनिधिमण्डल र पहिले स्वीकृत प्राप्त व्यवसायी एवं प्राविधिक प्रतिनिधिको सन्दर्भमा भने यो नियम लागू हुने छैन।

त्यस्तै, यूएईका सम्पूर्ण नागरिकलाई सम्पूर्ण सावधानीका उपाय अवलम्बन गर्नुपर्ने कुरामा जोड दिइएको छ। साथै गन्तव्य देशहरूले तोकेका प्रोटोकलको पनि पालना गर्न भनिएको छ।