टोकियो ओलम्पिक : संकटकाबीच जापानको व्यापक तयारी

टोकियो ओलम्पिक : संकटकाबीच जापानको व्यापक तयारी

टोकियो । यतिबेला जापानलाई कोरोनाको चौथो लहरले गाँज्ने संकेत देखिएको छ । तर, संक्रमण बढ्ने सम्भावनाकाबीच उसले विश्व खेलकुदको महाकुम्भलाई आयोजना गर्न जोडतोडका साथ तयारी अघि बढाएको छ।

दुई महिना अघिनै आपतकाल भएपनि ओलम्पिक आयोजना हुनसक्ने हरियो बत्ति विश्व ओलम्पिक कमिटिले बालिदिएकोमा जापान त्यसकै संघारतर्फ लम्किएको छ । आपतकाल सम्भावनाकाबीच नै विश्व ओलम्पिक कमिटि आइओसीका अध्यक्ष जापान आउन लागेका छन् ।

आइओसी अध्यक्ष थोमस वाच टोकियो ओलम्पिक उद्वघाटनको दुई हप्ता अघि ८ जुलाइमा जापान आइपुग्ने भएका छन् ।

ओइओसीले बुधवार ओलम्पिक खेल आयोजनालाई कोरोना भाइरसबाट सुरक्षित बनाउनको लागि वाच कोभिड–१९ भाइरसविरुद्धको खोप लगाएर टोकियो जान लागेको बताएको छ।

टोकियो आएपश्चात उनले स्थानीय ओलम्पिक आयोजकसँग मिलेर कामगर्ने बताइएको छ । तीन दिनको क्वारेन्टाइन नियम पालना गरेर आइओसी अध्यक्ष वाचले जुलाई १२ मा हुने ओलम्पिक खेल सम्वन्धि बैठकमा सहभागीता जनाउने कार्यतालिका रहेको छ ।

ओलम्पिक युद्धबिराम आरम्भ चित्रित गदैै वाचले १६ जुलाइमा हिरोशिमाको भ्रमण गर्ने भएका छन् । यो युद्धबिराम सम्वन्धि संयुक्त राष्ट्रसंघ महासभाद्धारा अपनाइएको एक पहल हो,जुन विश्वभर युद्ध विरामको लागि आव्हान गर्दछ।

आइओसी समन्वय आयोगका अध्यक्ष जोन कोट्सले सोही दिन नागासाकी यात्रा गर्ने बताइएको छ । हिरोशिमा र नागासाकी द्धितिय विश्वयुद्धका क्रममा मानवसंहार हुनेगरी अमेरिकाले आणविक बम विस्फोट गराएका स्थानहरु हुन्।

आइओसी कार्यकारी बोर्डको बैठक १७ र १८ जुलाइमा टोकियोमा हुनेछ । उक्त बैठक पश्चात २० जुलाइमा १३८ औं आईओसी अधिवेशन टोकियोमा हुनेछ । २३ जुलाइमा राजधानी टोकियोमा भव्य कार्यक्रमकाबीच ओलम्पिक खेल आयोजना उद्वघाटन हुनेछ।