खोपको डबल डोज नलिएकालाई कुवेतले प्रवेश नदिने

खोपको डबल डोज नलिएकालाई कुवेतले प्रवेश नदिने कुवेत सिटी

कुवेत सिटी । कुवेतमा स्वीकृति प्राप्त खोप लगाएका विदेशी नागरिकले मात्र प्रवेश पाउने भएका छन्।

कुवेतको मन्त्रिपरिषद्को निर्णय अनुसार फाइजर, अक्सफोर्ड, मोडर्ना र जोन्सन् एन्ड जोन्सन् खोपलाई स्वीकृति दिइएको छ।

सो निर्णय अनुसार फाइजर,अक्सफोर्ड र मोडर्नाका दुवै डोज वा जोन्सन् एन्ड जोन्सन्को कम्तीमा एउटा डोज लगाएका विदेशीले मात्र कुवेत प्रवेश गर्न पाउनेछन्। कुवेती नागरिकको सन्दर्भमा भने यो नियम लागू हुने छैन।

त्यस्तै, स्वीकृत खोपको कुनै एउटा मात्र डोज लगाइ अन्य देशको यात्रामा निस्किएका आप्रवासीले सो खोपको दोस्रो डोज नलगाउँदासम्म कुवेत प्रवेश गर्न पाउने छैनन्।

त्यसैगरी, अगस्ट १ भन्दा पहिले कुवेत छोडी अन्यत्र जान चाहने १५ वर्षमुनिका खोप नलिएका आप्रवासी बालबालिकाहरुको लागि यात्रा गर्नुभन्दा पहिल्यै आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने बताइएको छ।

कुवेत प्रवेश गर्न चाहने १२ वर्षदेखि १५ वर्षका बालबालिका पनि स्वीकृत खोप नलिएको खण्डमा कुवेत प्रवेश गर्न पाउने छैनन्। यद्यपि, बालबालिकाले खोप लगाउनु पर्ने वा नपर्ने भन्ने अध्ययनको विषय भएको बताइएको छ।