विश्वको सबैभन्दा सस्तो मोबाइल फोन भारतमा बन्दै

विश्वको सबैभन्दा सस्तो मोबाइल फोन भारतमा बन्दै

दिल्ली।भारतले विश्वको सबैभन्दा सस्तो एनरोयड फोन बनाउने भएको छ। गुगलसँग मिलेर रिलायन्स कम्पनीले ‘जियोफोन नेक्स्ट’ बजारमा ल्याउने जानकारी हालै दिएको हो।

कम्पनीको नयाँ प्लान्ट भारतको गुजरात सहरमा स्थापना गरिने सम्भावना प्रबल छ। गुगलसँग मिलेर रिलायन्सले उत्पादन गर्न लागेको फोनको मूल्य ४ हजारभन्दा माथि नहुने बताइएको छ।

गुगलका कार्यकारी निर्देशक सुन्दर पिचाईले रिलायन्सको एजीएममा यसको जानकारी दिएका हुन्। रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानीले पनि सामान्य व्यक्तिलाई ध्यानमा राखेर मोबाइलको डिजाइन गरिएको र यो निकै सस्तो हुने बताए।

नयाँ बन्ने मोबाइलमा ५ जी नेटवर्क हुनेछ। यस प्रोजेक्टका लागि गुगलले ३३,७३७ करोड भारतीय रुपैयाँ लगानी गर्दैछ। फेसबुकले रिलायन्स कम्पनीसँगै मिलेर यसअघि भारतमा ४५ हजार करोड रुपैयाँ लगानी गरेको थियो। रिलायन्ससँग विदेशी कम्पनीको यो दोस्रो ठूलो निवेश हो।