जोरा कम्पनीको चेक बाउन्स, क्रिकेट संघमा चर्काचर्की

जोरा कम्पनीको चेक बाउन्स, क्रिकेट संघमा चर्काचर्की

काठमाडौं। काठमाडौंको कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गत वैशाखमा आयोजना भएको त्रिकोणात्मक टि–२० शृंखलामा टिकट बिक्रिको अधिकार पाएको जोरा इन्टरनेशनलले नेपाल क्रिकेट संघ (क्यान) लाई बुझाउनु पर्ने रकम हालसम्म बुझाएको छैन। अझ उसले दुई महिनाअघि क्यानलाई उपलब्ध गराएको १५ लाखको चेक पटक–पटक बाउन्स भएको छ। क्यान र जोराबीच १५ लाख रुपैयाँको अनुबन्ध भएको थियो। जोराले प्रतियोगितामा घाटा खाएको भन्दै पन्छिन खोजेपनि उसले क्यानलाई उपलब्ध गराएको चेक बाउन्स हुनुले गम्भीर आशंका पैदा भएको छ।

यस सम्बन्धमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रवास खबरसँग भने, ‘’जोराले हामीलाई १५ दिनपछिको मिति राखेर दुई महिनाअघि चेक दिएको थियो। अहिले जम्मा गर्दा त्यसमा पैसा देखिएन। हामीले जोरालाई जानकारी गराएका छौं।’ गत वैशाख ४ देखि ११ गतेसम्म नेपालसहित नेदरल्यान्ड्स र मलेसियाबीच प्रतिस्पर्धा भएको थियो। सिरिजमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको थियो।  सिरिजका सुरुवाती खेलमा मैदानमा दर्शकलाई प्रवेश दिइएको थियो। त्यसबापत जोराले लाखौं रकम उठाएको थियो। विभिन्न प्रयोजक खोजेको जोराले मैदान वरिपरि प्रायोजकका ब्यानरले भरिएको थियो। लामो समयसम्म चेक बैंकमा जम्मा नभएपछि क्यानको केन्द्रीय समितिमा पनि चर्काचर्की भएको छ। केही साताअघि जोराले दिएको उक्त चेक क्यानको नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा जम्मा गरिएपछि सो चेकमा पैसा नभएको खुलेको हो।