मक्काको हजयात्रा यसपालि ‘हाई–टेक’ हुने

मक्काको हजयात्रा यसपालि ‘हाई–टेक’ हुने

रियाद। साउदी अरबमा हज गर्न जाने मुस्लिम धर्मालम्बीको लागि इलेक्ट्रोनिक पञ्जीकरणको काम अन्तिम चरणमा पुगेको छ। कोरोनाका कारण लगातार दोस्रो वर्ष पनि विदेशी हजयात्रीलाई स्विकृति प्रदान गरिएको छैन। हजको सम्भावित तारिख १७ देखि २२ जुलाई राखिएको छ। चन्द्रग्रहणको समय हेरेर यसमा केही हेरफेर हुनसक्ने छ।

यस वर्ष १८ देखि ६५ वर्षका मानिस, जसले कोरोनाविरूद्ध खोप लगाइसकेका छन्, उनीहरूले हज गर्न सक्ने बताइएको छ। यसपालि बढीमा ६० हजार व्यक्तिलाई हजको अनुमति दिइएको छ। हज र उमरा मन्त्रालयका अनुसार अहिलेसम्म ५ लाख ४० हजार मानिसले आवेदन भरेका छन्। यसपालि हज धेरै अर्थमा ‘हाईटेक’ हुने बताइएको छ।

हजका लागि नेनो टेक्नोलोजी ऐहराम लञ्च हुँदैछ। हज र उमराहको बेला पुरुषले लगाउने टु–पीस पहिरनको एहराम भनिन्छ। नयाँ लुगा वायरस र ब्याक्टेरिया फैलिनबाट रोक्ने हुनेछ। कोरोना संक्रमणलाई मध्यनजर गर्दै यसको प्रयोग व्यापाक हुने बताइएको छ। यो सत प्रतिशत कटनबाट बनेको छ भने ९० भन्दा धेरै पल्ट धुन सकिने छ।

यो लुगा साउदी सरकारको गुणस्तर विभागबाट अनुमोदित भइसकेको छ। यस बाहेक पहिलो पल्ट महिलालाई पुरुष अविभावक नभएपनि हज यात्राको स्विकृति प्रदान गरिएको छ। एक्लै हजमा समावेश हुने महिला महिला लिगको सदस्य बन्ने छन्।

यस्तै, स्मार्ट कार्ड–आधिकारीक परमिट बिना हज गर्न नसकिने पनि बताइएको छ। हज तथा उमरा उपमन्त्री डा. अब्दुलफताहका अनुसार परमिट कार्ड तथा तीर्थयात्रीको आइडीलाई मिलान गरेपछि मात्र दर्शनको व्यवस्था गरिने छ। यात्रीलाई क्रमिक रुपले फर्किन पनि डिजिटल सूचीको प्रयोग गरिने बताइएको छ।

यस्तै, इटमरना एप्लिकेशनको सहयोगले हजयात्रीको स्वास्थ्य अवस्थाको पूर्ण जानकारी राखिने मन्त्रालयले बताएको छ। मक्कामा सामाजिक दुरी कायम राख्न रोबोटको सहयोग लिइने पनि बताइएको छ। यसका लागि अलमारिनुमा रोबोटमा पवित्र जलको बोतल राखिने र यही मार्फत हजयात्रीलाई उपलब्ध गराइने बताइएको छ। परापूर्वकालदेखि हजयात्री आब–ए–जमजम (जमजमको पवित्र जल) पिउनका लागि घर लिएर फर्किने चलन छ। यसलाई मुस्लिम परम्परामा चमत्कारी मानिन्छ। हरेक वर्ष लाखौं बोतल हजयात्रीलाई उपलब्ध गराउने गरिन्छ।