टि–२० विश्व कप यूएई र ओमनमा हुने

टि–२० विश्व कप यूएई र ओमनमा हुने

दुबई।भारतमा आयोजना हुने टि–२० विश्व कप क्रिकेट प्रतियोगिता अब युनाइटेड अरब इमिरेट्स (यूएई) र ओमनले संयुक्त रुपमा आयोजना गर्ने भएका छन्।

भारतमा कोरोना संक्रमणको रोकथाम सोचेजति प्रभावकारी नभएपछि टि–२० विश्व कप यूएईले आयोजना गर्न लागेको हो। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले पनि यसका लागि स्विकृति प्रदान गरिसकेको छ। बीसीसीआईले कोरोनाका कारण स्थगित भएको आइपीएल प्रतियोगिताको बाँकी खेल पनि यूएईमा आयोजना गर्दैछ। आइपीएल र विश्व कपको खेल एकआपसमा जुध्ने शंकाका बीच अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसीसी) ले चासो राखेको थियो। तर, बीसीसीआईले विश्व कप सुरु हुनुभन्दा १०–१२ दिनअघि नै पिच खाली गर्ने बताएको छ।

नयाँ योजना अनुसार टि–२० विश्व कपको १२ वटा क्वालिफायर खेल १७ अक्टुबरदेखि ओमनमा हुनेछ। मुख्य खेल भने यूएईमा अक्टुबरको अन्त्यतिर हुनेछ।

आइपीएलको बाँकी खेल सेप्टेम्बर १९ देखि अक्टुबर १० सम्म आयोजना हुनेछ। आइपीएलमा अझै ३१ खेल हुन बाँकी छ। ओमनमा विश्व कपअन्तर्गत ८ टिम बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड, स्कटल्याण्ड, नामिबिया, ओमन र पपुवा न्युगिनीको खेल हुनेछ। टप–८ टिमको खेल भने यूएईको दुबई, अबुधाबी र शारजहामा हुनेछ।