श्रमिकका लागि खोइ सरकार ?

श्रमिकका लागि खोइ सरकार ?

नेपालमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि सरकारले आन्तरिक मात्र होइन, अन्तर्राष्ट्रिय उडान पनि रद्ध गर्‍यो। यसले देशभित्र कत्तिको असर प¥यो, त्यो नेपालमा बस्ने दाजुभाई दिदीबहिनीलाई थाहा हुने विषय भयो। तर, हामी जस्तो विदेशमा रोजगारी गरिरहेका नेपालीलाई भने ठूलै मार्का पर्‍यो।

उडान नहुँदा साउदी अरबमा बसोबास गर्ने म जस्ता थुप्रै दाजुभाई, दिदीबहिनीले कष्टकर जीवनयापन गर्नुपरेको थियो। रोजगारी गुमेर बसेका, भिसाको अवधि समाप्त भएर अलपत्र परेका, बिरामी, घर विदामा देश फर्किन चाहने धेरै नेपालीले बीचको अवधिमा दुःख पाएका थिए।

समस्या व्यापक बढेपछि सबैको आग्रह तथा दूतावासको पहलमा सरकारले राहत स्वरुप सिमित संख्यामा उडानलाई अनुमति दियो। जसअन्तर्गत अहिले उडान भइरहेको छ। तर, यो उडान श्रमिक दाजुभाईको हितका लागि नभएर पैसा लुट्ने मनसायले उडाएको देखियो।

सरकारले यसलाई नियमित उडान त भन्यो। तर, टिकटको मूल्य हेर्दा यो नियमित नभई चार्टर उडानभन्दा महंगो पर्न गएको स्पष्ट छ। दुःखको बेला आफ्नै नागरिकसँग यति महंगो मूल्य उठाउने सायद नेपाल मात्र एउटा यस्तो देश होला, जहाँ दुईतर्फी टिकट मूल्य बराबर एकतर्फीको भाडा उठाइएको छ।

नेपाल सरकारले अहिलेसम्म यो कुरा स्पष्ट पारेकौ छैन, उसले नियमित उडानको नाममा एकतर्फी टिकटको मूल्य नै दुईतर्फी बराबर लिन निर्देश गरेको हो। यसले सबैमा अन्यौलता कायम गरेको छ। यस सम्बन्धमा हामी जस्ता थुप्रै श्रमिकले दूतावास तथा सम्बन्धित निकायसँग सोधपुछ गरेका थियौं। तर, चित्तबुझ्दो उत्तर अहिलेसम्म आएको छैन।

हाम्रो प्रश्न सरकारसँग– यदी नियमित उडान हो, चार्टर होइन भने नियमितमा दुईतर्फी टिकट प्राप्त गर्न सकिने सेवा किन उपलब्ध छैनरु नियमित उडानका लागि सिमित ट्राभल एजेन्सीबाट मात्र टिकट लिन सकिने नियम किन ?

तपाईं हामी सबैलाई प्रष्टसँग थाहा भएको विषय खाडी मुलुक, त्यसमाथि पनि साउदीमा कार्यरत अधिकांश नेपाली दाजुभाइ दिदिबहिनी कोरोनाको अहिले अवस्थामा निकै पिडित बनिरहेका छौ। २६ सय रियाल तिरेर स्वदेश फर्कन बाध्य छौ। हामी यहाँ आउँदा ऋण बोकेर आएका थियौ। के घर फर्किदा पनि ऋण नै बोकेर जानुपर्ने ?

यस्तो तितो वास्तविकता साउदीमा लगभग ८० प्रतिशतको होला। त्यसैले विशेषगरि साउदीबाट फर्किने सबैले एउटा भ्याक्सिन लगाइसकेको अवस्थामा काठमाडौंमा क्वारेन्टाइन नराखिकन् ‘होम क्वारेन्टाइन’ मा राख्ने र आउने जाने टिकटलाई सस्तोमा उपलब्ध गराउन सके हामी जस्ता कैयौं श्रमिकलाई राहत पुग्ने थियो।

(मिया साउदी अरबको अलकासिममा कार्यरत छन्।)