प्रधानमन्त्री ओलीले भने– ‘माधव नेपाल लाजशरम पचेको मान्छे’

प्रधानमन्त्री ओलीले भने– ‘माधव नेपाल लाजशरम पचेको मान्छे’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल झुटको खेती गर्न उद्दत रहेको बताएका छन्।

केही दिनअघि आफूलाई प्रधानमन्त्रीको ‘अफर’ आएको भन्ने नेपालको भनाईप्रति ब्यंग कस्दै ओलीले आफूलाई बौला कुकुरले नटोकेको पनि बताएका छन्।

बालुवाटारमा सोमबार आयोजित एक कार्यक्रममा ओलीले भने, ‘तपाईंहरूले दुई–तीन दिन अघि सुन्नुभयो होला। मैले माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव राखेँ अरे। म यो मान्दिनँ अरे। मेरो शेरबहादुर देउवाप्रति यति निष्ठा छ, देउवालाई प्रधानमन्त्री बनाउने कसम खाएको छु। देशलाई धोका दिन्छु। जनतालाई धोका दिन्छु । तर, देउवालाई धोका दिन सक्दिनँ। यसो भनिरहेका छन्।’

प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई शेरबहादुर देउवाको पार्टी ज्वाइन गर्न पनि सुझाव दिए। ‘प्रचण्डको पार्टी त ज्वाइन गर्नु नै छ। उनको गन्तव्य त्यही हो। माधव नेपाल भनेको प्रचण्डको मामुली कार्यकता हुन्। तर, अहिले धाक लगाएका छन्, केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव राख्यो। मलाई बहुला कुकुरले टोकेको छ र कोही मान्छे नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव राख्न?’

ओलीले ‘लाजशरम पचेको मान्छे’को संज्ञा पनि दिए नेपाललाई।

भने, ‘यतिसम्म पनि मान्छे पतन हुँदा रहेछन्। आफ्नो सरकार ढाल्ने, कम्युनिष्ट आन्दोलन सिध्याउने, विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हिँड्ने, अनि नेकपा एमालेको वरिष्ठ नेता भन्ने। लाजशरम पचेको मान्छे।’