लागूऔषध तस्करमाथि कुवेत सरकारको कडा रबैया

लागूऔषध तस्करमाथि कुवेत सरकारको कडा रबैया

कुवेत सिटी। कुवेतको आन्तरिक मन्त्रालयले मुलुकभित्र भएको लागूऔषध तस्करीको शृंखलाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

आन्तरिक मन्त्रालयका फौजदारी सुरक्षा विभागका उच्च सुरक्षास्रोतले कुवेतमा स्थल, समुद्री र हवाइमार्गमार्फत भइरहेको लागूऔषध तस्करीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको हो। उच्चश्रोतले २६ जुन शनिबार लागूऔषध दुर्ब्यसन तथा अवैध तस्करीविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा यस्तो जानकारी दिएको थियो।

लागूऔषध बिक्रेताले ‘क्यामौफ्लेज’ विधिको प्रयोगगरी कुवेतसहित अन्य खाडी मुलुकलाई लक्षित गर्दै तस्करी गरिरहेको सुरक्षा स्रोतले बताएको छ। ती प्रयासलाई असफल पार्न तथा सुरक्षाकर्मीको अनुसन्धानमा क्षमता सुधार गर्न पछिल्लो विश्वव्यापी तालिमको विधि र प्रविधि प्रदान गरिएको समेत सुरक्षास्रोतले बताएको छ।

यस सन्दर्भमा आफ्ना बालबच्चा लागूपदार्थको दुर्ब्यसनीमा फसेको सम्बन्धमा उजुरी दिने प्रवासीलाई देश निकाला नगरिएको, बरु त्यस्ता व्यक्तिलाई उपचार प्रदान गरिएको स्रोतले बताएको छ। स्रोतले नागरिकको हकमा यही नियम लागू हुने बताएको छ।

त्यस्तै दुब्यसनीको उजुरी परेका युवालाई मुद्दा नचलाइने तर, उनीहरुसँग भएको लागूऔषध जफत गरी सामान्य व्यक्तिको रुपमा समाजमा फर्कने अवसर दिइने स्रोतले बताएको छ।

‘लागूऔषध दुर्ब्यसनी नियन्त्रणको सम्बन्धमा गरिएका प्रयासको कारणले नै यहाँ सो दुर्ब्यसनीको कारणबाट हुने मृत्युको संख्यामा कमी आएको छ, स्रोतले भनेको छ, ‘नार्कोटिक्स र साइकोट्रपिक पदार्थको बरामदको मात्रा निकै धेरै हुनुले लागूऔषध तस्करीमा धेरै धनराशी संलग्न छ भन्ने कुराको संकेत गर्दछ।’