नेपालमासमेत काम गरेका दन्त चिकित्सक दम्पतीले यूएईमा पाए ‘गोल्डेन भिसा’

नेपालमासमेत काम गरेका दन्त चिकित्सक दम्पतीले यूएईमा पाए ‘गोल्डेन भिसा’

दुबई । नेपालमासमेत काम गरेका एक दन्त चिकित्सक दम्पतीले यूएईमा ‘गोल्डेन भिसा’ पाएका छन् । उनीहरुले हालैमात्र यहाँको दसवर्षे ‘गोल्डेन भिसा’ प्राप्त गरेका हुन्।

अर्थोडोन्टिष्ट् विशेषज्ञ डा. दिपक शर्मा तथा उनको श्रीमती बाल दन्त रोग विशेषज्ञ डा. अनुकृति पाठकले चिकित्सकको श्रेणी अन्तर्गत यूएईको विशेष भिसा प्राप्त गरेका हुन्।

डा. शर्माले २१ जुनमा सो भिसा प्राप्त गरेका हुन् भने उनको श्रीमति डा.पाठकले एक दिनपछि प्राप्त गरेकी हुन्। सो भिसाको अवधि २०३१ को जुन महिनासम्म रहेको छ।

‘गोल्डेन भिसाको लागि हामी आफूलाई भाग्यशाली ठानेका छौं । यसको लागि यूएई सरकार एवं अधिकारीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौं,’ डा. शर्माले स्थानीय पत्रिकासँग भनेका छन् । डा. पाठकले यो आफ्नो जीवनको सबैभन्दा खुसीको क्षण भएको बताएकी छिन्।

ती जोडी भारतको राजस्थान राज्यको भरतपुर निवासी हुन् । उनीहरु सन २०१५ मा रोजगारीको लागि यूएई आएका थिए । उनीहरुले रोजगारीकै क्रममा नेपाल, भारत र साउदी अरबमा  धेरै समय बिताएका थिए ।

अहिले ती दम्पतीले देइराको पोर्ट सइदमा र इबन् बाटुटा मलमा आफ्नै पोलिक्लिनिक सञ्चालन गर्दै आएका छन्। त्यसभन्दा पहिले ती दुवै जनाले दुबईको स्थानीय अस्पतालमा जागीर गर्दथे।

डा.शर्माले खुसी व्यक्त गर्दै भनेका छन्,‘यूएईमा ६ वर्ष बस्ने क्रममा आफ्नै घरपरिवार जस्तै महसुस भएको छ।’

डा.शर्माले ‘अर्थोडोन्टिक्स’ तथा ‘डेन्टोफेसियल अर्थोपेडिक्स’मा स्नातकोत्तर हासिल गरेका छन्। त्यस्तै, डा. पाठकले कर्नाटक, भारतको मणिपाल विश्वविद्यालयबाट ‘पेड्रियाटिक’ र ‘प्रिभेन्टिभ डेन्टिस्ट्र’मा स्नातकोत्तर गरेकी छिन्।

अहिले दाँतको उपचार एकदमै महँगो भएकोले त्यसलाई सर्वसुलभ बनाउने आफूहरुको लक्ष्य रहेको ती दम्पतीले बताएका छन्।