यी हुन् खाडीमा सबैभन्दा सस्ता र महङ्गा सहर

यी हुन् खाडीमा सबैभन्दा सस्ता र महङ्गा सहर कुवेत सिटी

काठमाडौं । ‘मर्सर’ले विश्वमा बस्न सबैभन्दा महङ्गा र सस्ता सहरको सूची सार्वजनिक गरेको छ । बसोबास गर्न लाग्ने खर्चलगायत विभिन्न आयामलाई आधार बनाएर ‘मर्सर’ले सस्ता तथा महँगा सहरहरूको सूचीसहित रिपोर्ट निकालेको हो ।

अध्यायनका अनुसार नेपाली श्रमिकको बाक्लो उपस्थिति रहेको खाडी मुलकमध्येबाट सबैभन्दा सस्तो सहर कुवेत सिटी मानिएको छ । गल्फ को–अपरेशन काउन्सिल (जीसीसी) का देशहरूमध्येबाट बसोबास गर्न सबैभन्दा सस्तो सहरको रुपमा कुवेत सिटी पर्न सफल भएको हो ।

सो रिपोर्टअनुसार २०२१ को लागि कतारको दोहा दोस्रो र ओमनको मस्कट तेस्रो सस्तो सहरको सूचीमा समावेश भएका छन् ।

विश्वभरका २ सय ९ वटा सहरहरुमध्ये कुवेत सिटी १ सय १५ औँ स्थानमा परेको छ । जुन गत वर्षको तुलनामा दुई स्थान तल हो। त्यस्तै, कतारको दोहा १३० औं स्थानमा परेको छ।

गत वर्षको रिपोर्टअनुसार मस्कट ९६ औं स्थानमा रहेकोमा यस वर्ष १२ स्थान तल ओर्लदैँ १०८औं स्थानमा परेको हो।

प्रमुख जीसीसी शहरको ‘लिभिङ कस्ट’ (बसोबास मूल्य) कोभिड महामारीसँगै आएको आर्थिक गिरावटको कारणले तल ओर्लिएको रिपोर्टको निष्कर्ष छ । यद्यपी, साउदीअरब यसमा अपवाद बनेको छ।

जीसीसी देशका शहरहरुमध्ये रियाद सबैभन्दा महङ्गो सहर सावित भएको छ। त्यस्तै, दुबई दोस्रो मँहगो शहरको रुपमा परेको छ । आबुधाबी शहर भने ५६औं स्थानमा परेको छ।

उक्त रिपोर्टअनुसार विश्वभरका सहरहरुमध्ये तुर्किमिनिस्तानको राजधानी अश्गाबात्, हङकङ र लेवनानको बेरुत शहर सबभन्दा महंगो सहरका रुपमा स्थापित भएका छन्।

अर्कोतर्फ किर्गिस्तानको बिश्केक, जाम्बियाको लुसाका र बिलीसीको राजधानी जर्जिया विश्वका सबैभन्दा सस्ता तीन शहरको रूपमा सूचीकृत भएका छन्।

सो रिपोर्टअनुसार विश्वका १० महंगा शहरहरुमा अश्गाबात्, हङकङ र बेरुत पछि क्रमशः टोकियो, जुरिच, सांघाई, सिङ्गापुर, जेनेभा, बेइजिङ र बर्न रहेका छन्।