आबुधाबीमा कार्यरत नेपाली ट्याक्सी चालकले निःशुल्क कोभिड–१९ को खोप लगाउन पाउने

आबुधाबीमा कार्यरत नेपाली ट्याक्सी चालकले निःशुल्क कोभिड–१९ को खोप लगाउन पाउने

आबुधाबी।युनाईटेड अरब इमिरेट्स (यूएई) को आबुधाबीमा कार्यरत नेपाली ट्याक्सी चालकले पनि निःशुल्क कोभिड–१९ को खोप लगाउन पाउने भएका छन्।

आबुधाबीको महानगरपालिका अन्तर्गत रहेको यातायात विभागको ‘इन्टिग्रेटेड ट्रान्सपोर्ट सेन्टर’ (आइटिसी) ले आउँदो मेको अन्त्यसम्म शहरमा रहेका ७ हजार १ सय ७७ जना गाडी चालकलाई खोपको पूर्ण मात्रा लगाइसक्ने बताएको छ।

महानगरपालिकाको यो निर्णयपछि आबुधाबीमा यातायात क्षेत्रमा कार्यरत नेपाली श्रमिकले पनि निःशुल्क खोपको पूर्ण मात्रा लगाउन पाउने भएका हुन्। महानगरपालिकाले स्वास्थ्य विभाग र अबुधावी स्वास्थ्य संस्थासँग मिलेर यो अभियान सुरु गर्न लागेको हो।

महानगरपालिकाले यातायात क्षेत्रमा कार्यरत सबै कामदारलाई खोप लगाउनुको कारण शहरमा कोभिड–१९ लाई फैलिन नदिनु तथा स्वास्थ्य सुरक्षालाई स्थायीत्व दिनु रहेको बताएको छ।

आइटिसीका अनुसार उसँग आवद्ध सार्वजनिक यातायातमा कार्यरत १४ सय ६० चालकलाई उसले कोरोना खोप लगाइसकेको छ। उसले विज्ञप्तीमा भनेको छ, ‘६ हजार ९ सय ३८ ट्याक्सी ड्राइभरमध्ये ५ हजार ७ सय ६ लाई खोप लगाउने काम सम्पन्न भइसकेको छ। यो कूल ट्याक्सी ड्राइभरको जनसंख्याको ८२ प्रतिशत हो।’