कुवेत : कामदारलाई चर्को घाममा काम लगाउने २८१ कम्पनी सरकारी राडारमा

कुवेत : कामदारलाई चर्को घाममा काम लगाउने २८१ कम्पनी सरकारी राडारमा फाइल फोटो

कुवेत सिटी। कुवेतले हालै जारी गरेको श्रम सम्बन्धि नयाँ नियम उल्लंघन गर्दै २ सय ८१ कम्पनीले नेपालीलगायत विदेशी कामदारलाई चर्को घाममा काम लगाएको तथ्य सार्वजनिक भएको छ।

कुवेतले १ जुनदेखि लागू हुनेगरि दिउँसो ११ बजेदेखि ४ बजेसम्मको मध्यघाममा कुनै पनि श्रमिकलाई काम नलगाउन उर्दी लगाएको थियो। वैदेशिक रोजगारमा कुवेत आएका विदेशी श्रमिकको स्वास्थ्यलाई ध्यानमा राख्दै यसै वर्ष लागु गरिएको नयाँ नियम तीन महिनाको रहेको छ। यो नियमअनुसार अगस्ट महिनासम्म श्रमिकलाई मध्यघाममा काम लगाउन रोक लगाइएको छ।

कामदारलाई चर्को घाममा काम लगाइएको खण्डमा जरिवाना तिराउने व्यवस्था सरकारले गरेपनि सुरुवात भएको कारण एक पल्टलाई माफी दिने काम पनि भएको छ। १–१७ जुनसम्म निकालिएको तथ्यांक अनुसार निरीक्षण टोलीले ३ सय ७७ स्थानमा छानवीन गरेको थियो।

कुवेत जन–सम्पर्क र सञ्चार विभागका निर्देशक तथा ‘पब्लिक अथोरिटी फर म्यानपावर’ (पिएएम) का प्रवक्ता असिल अल–मजैदका अनुसार निरीक्षणका क्रममा २ सय ८१ कम्पनीले नियम उल्लंघन गरेको घटना पाइएको छ। उनले नियम उल्लंघन गर्दै काम गर्ने ४ सय ३९ श्रमिकलाई पनि पक्राउ गरिएको बताइन्।

‘हामीले सुरुदेखि नै नियम कार्यान्वयन भए–नभएको कडाईका साथ निरीक्षण गरेका थियौं,’ उनले भनिन्।

नियम उल्लंघनको आरोपमा २२ वटा उजुरी विद्युतीय माध्यमबाट प्राप्त भएको पनि मजैदको भनाई थियो। नियम उल्लंघन गर्ने व्यक्ति तथा कम्पनीलाई गैरकानूनी क्रियाकलाप नदोहोर्याउन चेतावनी दिइएको छ।

केही क्षेत्रमा गरिएको पुनः निरीक्षणको क्रममा अधिकांश कम्पनीले निर्णयको पालना गरेको पाइएको छ।

मजैदले रोजगारदातालाई श्रमिकको सुरक्षाको ग्यारेन्टी गर्न र कानुनको पालना गर्न आग्रह गर्दै यस नियमको उद्देश्य कुनै पनि क्रियाकलापमा बाधा पुर्याउने नभई सार्वजनिक सुरक्षा कायम गर्नु रहेको स्पष्ट पारिन्।

दिउँसो गर्न नपाएको कामको सट्टामा साँझको उपयुक्त समयमा काम गरी क्षतिपूर्ति प्राप्त गर्न सकिने उनको भनाइ थियो।