लण्डनमा भिसी तुलबहादुरको नाममा रेल सेवा सुरु हुँदा सबै नेपाली हर्सित (फोटोफिचर)

लण्डन। भिक्टोरिया क्रस ९भिसी० विजेता तुलबहादुर पुनको नाममा लण्डनमा बुधबारदेखि सुरु भएको रेल सेवाको उद्घाटन उनका छोरा अर्जुन पुन र छोरी मेघकुमारी पुनले गरेका छन्। पुनको नाममा सञ्चालनमा आएको रेल सेवा बुधबारदेखि नै लण्डन प्याडिङटन–ब्रिस्टोलका लागि हिँडेको थियो। बेलायतमा नेपालीको नाममा रेल्वे सञ्चालन हुनुलाई बेलायतमा बसोबास गरिरहेका नेपाली समुदायले गर्वको रुपमा हेरेका छन्।
नामाकरण समारोहमा अभिनेत्री जोअना लुम्लेले पनि उपस्थित थिइन। उनले आफू ६ वर्षको हुँदा पुनको फोटो देखेको बताइन्। भनिन् ‘मेरो उहाँसँग भेट बुवा बितेको ९ वर्षपछि भएको थियो। भेटमा उहाँले मलाई मेरो बुवाको बारेमा सोध्नु भएको थियो। मैले बुवा बितेको बताएपछि उहाँले अबदेखि तिमी मेरी छोरी भयौ भन्नुभयो।’
गोरखा न्यायीक अभियानमा तुलबहादुर पुनको नाम इतिहासमा अङ्कित भइसकेको बताउँदै लुम्लेले भनिन्, ‘अब पुनलाई सबैले दिनहुँ सम्झिने छन्।’
गोरखा ब्रिगेड एसोसिएसनका अध्यक्ष डेभिड बिलले गोरखासित काम गर्दा खुशी लागेको बताए। उनले पुनको नाममा रेल्वे सेवा सन्चालन गर्ने निर्णय गरेकोमा ग्रेट वेस्टर्न रेल्वेलाई धन्यवाद दिए। नेपालमा रहेका गोरखा र उनका परिवार कोभिड–१९ को जोखिममा रहेको भन्दै नेपाललाई खोप उपलब्ध गराउन बेलायती प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराएका थिए।
ग्रेट वेस्टर्न रेल्वे सेवाकी मानव संशाधन निर्देशक रुथ बस्बीले ग्रेट वेस्टर्न रेल्वेले समुदायको पहिचान, स्वामीत्व र सहयोगका लागि लामो समयदेखि रेल्वेको नाम विभिन्न व्यक्तिका नाममा गरिरहेको बताइन्। दोस्रो विश्वयुद्ध समाप्तिको ७५ वर्षको अवसरमा गत वर्ष नै यो कार्यक्रम गर्न खोजिएको थियो। तर कोभिड–१९ महामारीका कारण एक वर्ष पछि सार्नुपरेको हो।
यस अवसरमा गोरखा म्यूजिमका निर्देशक डा ड्यारेन बोयरले पुनका बारेमा लण्डन गजेटमा छापिएको व्यहोरा वाचन गरेका थिए।
पुनको परिवारका तर्फबाट गोर्खा ब्रिगेड एसोसिएसनका सचिव मणि राईले ग्रेट वेस्टर्न रेलवेलाई धन्यवाद दिए। पुनकी श्रीमती भने अहिले नेपालमा भएका कारण कार्यक्रममा सहभागी हुन सकिनन्। कार्यक्रममा पूर्व गोरखाको पनि उल्लेखनीय सहभागिता थियो।