एनआरएनए नेदरल्याण्डको नेतृत्वमा मिम पुर्जाको दावी

एनआरएनए नेदरल्याण्डको नेतृत्वमा मिम पुर्जाको दावी

काठमाडौं। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/नेदरल्याण्ड) को नेतृत्वका लागि मिम पुर्जाले उम्मेदवारी घोषणा गरेका छन्।

पुर्जा वर्तमान कार्यसमितिमा बरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालेका छन् । यसअघि पुर्जाले कोषाध्यक्षको अनुभव पनि बटुलेका थिए।

आगामी कार्यकालको लागि एनआरएनए नेदरल्याण्डको चुनाव ११ जुलाइमा हुँदैछ।

अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै पुर्जाले प्रवास खबरलाई भने, ‘एनआरएन नेदरल्याण्डलाई कुनै दल विशेष, समुह विशेष, क्षेत्र विशेष र जातीय विशेषभन्दा पनि सबै गैरआवासीय नेपालीको अपनत्व महसुस गर्नसक्ने बनाउने छु।’

उनले एनआरएनए नेदरल्याण्ड कुनै एक अमुक समूहबाट सञ्चालन भइरहेको आरोप लगाउँदै यसमा नेपाली सुमदायको गम्भिर चिन्ता र चित्त दुखाइ बनेको बताए। ‘यो प्रवृतिको अन्त्य पनि मेरो ध्येय हो’, उनले भने।

संघको नेतृत्व गरिसकेका यसअघिका पूर्वअध्यक्ष, एनआरएनए आइसीसी सदस्य, विभिन्न क्षेत्रिय, सामुदायिक र राजनीतिसँग सम्बन्धित संस्था, समाजका अग्रज समाजसेवी तथा स्वतन्त्र व्यक्ति आफ्नो समर्थनमा रहेको पनि उनले बताउन भुलेनन्।

उनले आफ्नो २ वर्षे कार्यकालमा संस्थाले राखेको विशिष्ट लक्ष्य प्राप्तीका लागि आफूले दिलोज्यान दिएर काम गर्ने बताए।

पुर्जा म्याग्दी निवासी हुन् । उनी प्रवासी म्याग्दी संघ (मोना) को अन्तर्राष्ट्रिय कार्यसमितिको उपाध्यक्ष समेत हुन् । यसअघि उनले मोनामा महासचिव भएर पनि काम गरेका थिए ।

सामाजिक संघसंस्थामा लामो अनुभव बटुलेकाले एनआरएनए नेदरल्याण्डको नेतृत्व हाँक्न योग्य रहेको पुर्जाको दावी छ । ‘एनआरएनएमा नयाँ मार्ग–नयाँ उर्जा, एक पटकलाई मिम पुर्जा’ भन्ने मुल नारासहित उनी चुनावी मैदानमा उत्रिएका छन् ।