कोरोना महामारीका बाबजुद कतार विश्व कप आयोजना गर्न सक्षमः प्रधानमन्त्री थानी

कोरोना महामारीका बाबजुद कतार विश्व कप आयोजना गर्न सक्षमः प्रधानमन्त्री थानी

दोहा।फिफा विश्व कप फुटबल प्रतियोगिता सुरु हुन अझै डेढ वर्षभन्दा केही समय बाँकी छ। मध्यपूर्वी देशमा पहिलो पल्ट आयोजना हुन लागेको यो प्रतियोगिता कतारले गर्दैछ।

कतारले प्रतियोगिताका लागि आफ्नो देश हरेक पक्षबाट तयार भइसकेको जनाएको छ। कतारका प्रधानमन्त्री शेख खालिद बिन खालिफा बिन अब्दुल्लाजिज अल–थानीले सञ्चारकर्मीसँग कुराकानी गर्दै यसको जानकारी दिएका हुन्। उनले कोभिड–१९ महामारीका कारण विश्व प्रभावित भएको गाह्रो परिस्थितिमा पनि कतारले विश्व कपको तयारी उत्कृष्ट र द्रुतगतिमा गरिरहेको बताए।

‘कोभिडको प्रभावले सुरुमा केही असर परेको थियो। तर विश्व कप परियोजनामा काम गरिरहेका कम्पनीसँगको समन्वयमा चाँडै तयारी थालिएको कारण आवश्यक सबै सामग्री जुटाएर पूर्वाधार तयार गर्न हामी सफल भएका हौं’, प्रधानमन्त्री थानीले पत्रकार सम्मेलनमा भने, ‘प्रतियोगिता आयोजनाका लागि कतार हरेक पक्षबाट तयार छ।’

विश्व कपको लागि ठूलो संख्यामा स्टेडियमको निर्माण कार्य सम्पन्न भइसकेको छ भने खेल आयोजना गर्न कतार पहिलेदेखि नै तयार भएको उनको भनाइ थियो। हाल सम्पन्न भइसकेका स्टेडियम मध्ये धेरैले महत्वपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिसकेका छन्।

१८ डिसेम्बर, २०२२ मा विश्व कपको अन्तिम खेल हुने मुख्य लुसाइल स्टेडियमको तयारी ९० प्रतिशत पूरा भइसकेको थानीले बताए। अल थुमामा र रस आबु अबौद स्टेडियमको तयारी कार्य पनि अन्तिम चरणमा पुगेको उनको भनाइ थियो।

विश्व कप प्रोजेक्ट सम्बन्धी अन्य पूर्वाधार पनि उत्कृष्ट तथा द्रुतगतिमा तयार हुँदै गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री थानीले स्पस्ट पारे।

विश्व कपकै लागि भनेर कतारले यातायात नेटवर्क, आवास, स्वास्थ्य सेवासहित विभिन्न पक्षमा काम गरिरहेको थियो, जुन तयारी अवस्थामा रहेको बताइएको छ। पूर्वयोजना अनुसार सबै कुरा अगाडी बढिरहेको र छिट्टै सम्पन्न हुने उनको भनाइ थियो।

‘२०२१ को डिसेम्बरमा हुने अरब कपले पनि विश्व कप तयारीको अवस्था स्पष्टसँग झल्किने छ,’ प्रधानमन्त्री थानीले बताए।

यसै सन्दर्भमा दर्शक, नागरिक तथा बासिन्दाको स्वास्थ्यसम्बन्धी चासोलाई स्पष्ट पार्दै थानीले भने, ‘फिफा विश्व कप सुरु हुने बेलासम्म विश्वका धेरै देशले आफ्ना नागरिकलाई खोप दिइसक्ने कुरामा हामी विश्वस्त छौं।’
कोभिडविरुद्ध खोपको पूर्ण मात्रा नलगाएका दर्शकले प्रवेश नपाउने कुरा उनले स्पष्ट पारेका छन्।

कतिपय देशले आफ्ना सबै नागरिकलाई कोभिडविरुद्ध खोप प्रदान गर्न असमर्थ हुनेतर्फ संकेत गर्दै उनले विश्व कप हेर्न आउने सम्भावित विदेशी दर्शकको लागि खोपको १० लाख मात्राको व्यवस्था गर्न एक कम्पनीसँग छलफल भइरहेको बताए।

विश्व कप हेर्न कतार आउने विदेशीलाई खोप दिनुको उद्देश्य आफ्ना नागरिकको स्वास्थ्यको सुनिश्चितता खोजिएको उनले बताए।

यसै साताको अन्त्यमा कूल जनसंख्याको करिब ७२ प्रतिशतले कोभिडविरुद्ध खोपको कम्तिमा एउटा मात्रा लगाइ सक्नेतर्फ संकेत गर्दै उनले कोभिड नियन्त्रणमा स्वास्थ्य क्षेत्र एवम् स्वास्थ्यकर्मीले खेलेको भूमिकाको उच्च प्रशंशा गरे।