पौरखी पुस्ताः मलेसियाबाट फर्किएका भिमसेन गोलभेडा खेतीबाट वार्षिक १२ लाख कमाउँछन्

पौरखी पुस्ताः मलेसियाबाट फर्किएका भिमसेन गोलभेडा खेतीबाट वार्षिक १२ लाख कमाउँछन्

कुनैबेला उनलाई यो देशमा बसेर प्रगति गर्न सकिन्न भन्ने लाग्थ्यो। यसैले उनी रोजगारीका लागि किशोर अवस्थामै मलेसिया उडे। उनले मलेसियामा हदैसम्मको दुःख गरे। केही पैसा पनि कमाए। तर, जति खट्दा पनि आफ्नो जीवनशैलीमा खासै परिवर्तन नआएपछि उनी नेपाल फर्किए।

नेपालमा उनले होटल तथा खाधान्न पसल चलाएर जीविकोपार्जन गर्न खोजेका थिए। तर, दुबै व्यवसायमा असफल भए। बाध्य भएर फेरि मलेसिया फर्किने सोचमा रहेका उनी एउटा घटनाबाट प्रभावित भए। जसका कारण उनको जीवनशैली नै फेरियो।

३८ वर्षको उमेरमा अहिले उनी आफ्नो जिल्लाकै सफल कृषक बनेका छन्। वर्षमा उनी सबै खर्च कटाएर १२ लाख रुपैयाँ जोगाउने बताउँछन्।

वैदेशिक रोजगारीबाट नेपाल फर्किएपछि आफ्नो पौरखले धन तथा प्रतिष्ठा कमाउने यी नेपाली हुन्, धादिङ ढोला हटियाका भिमसेन श्रेष्ठ।

५ वर्ष मलेसियामा रोजगारी गरेर फर्किएका भिमसेनले २०६८ सालदेखि एसजी एग्रीकल्चर फार्मको नाममा बेमौसमी गोलभेडा खेती र लहरेबाली गर्दै आएका छन्। उनको सफलता देखेर जिल्लाका युवा मात्र होइन, बुढाबुढी पनि जिब्रो काट्ने गर्छन।

२०६७ सालमा मलेसियाबाट फर्किएपछि उनले पहिले धादिङमा होटल खोलेका थिए। त्यो सफल भएन। यसपछि खाधान्नको पसल खोले। यो पनि सफल भएन। सबै गर्दा सफल नभएपछि निरास भएर उनी फेरि मलेसिया फर्किने मनस्थितिमा पुगिसकेका थिए।

तर, काठमाडौंमा कीर्तिपुरतर्फ झापाका एक व्यक्तिले भाडामा जग्गा लिएर आधुनिक तरिकाले गोलभेडा खेती गरेको देखेपछि उनको मन बदलियो।

यही घटनापछि उनले विदेश जाने सोच परित्याग गरे। गाउँमा उनको आफ्नै जग्गा थियो। यही जग्गामा आधुनिक खेती गर्ने मन बनाएर घर फर्किएका भिमसेनले यसपछि फर्किएर हेर्नुपरेको छैन।

‘१० वर्षअघि विदेश फर्किने सोच त्यागेर गाउँमा खेती गर्छु भन्ने प्रण गरे, त्यो नै मेरो जीवनको ठूलो निर्णय थियो,’ प्रवास खबरसँगको कुराकानीमा भिमसेनले भने, ‘अहिले सबैले चिन्छन्। इज्जत गर्छन। त्यो नै मेरो लागि ठूलो कुरा हो।’
पहिले मलेसियामा अर्काको कारखानामा काम गर्ने भिमसेन अहिले आफ्नो खेतीमा दैनिक ज्यालादारीमा २ सय ५० मजदुरलाई रोजगारी दिइरहेका छन्।

‘ठूलो सपना देखेर मात्र हुँदैन। त्यो पुरा गर्न सानो–सानो कुरा गर्दै जानुपर्छ,’ उनी भन्छन्। उनले १० वर्षअघि व्यवसाय गर्दा ५० बोट गोलभेडाबाट सुरु गरेका थिए। अहिले यो व्यवसायलाई उनले १८ विघामा फैलाइसकेका छन्।
‘काम गर्छु भनेर मात्र हुँदैन रहेछ। काममा डुब्नु पनि पर्छ। अध्ययन–अनुसन्धान पनि चाहिन्छ,’ उनी भन्छन्।

कृषि खेतीमा उनको पहिलो कमाई ९ हजार रुपैयाँ थियो। अहिले विदेशमा भन्दा लाखौं रुपैयाँ घरमै बसेर कमाउँछन्। ‘म मलेसिया फर्किएको भए महिनाको बचत ५० हजार हुन्थ्यो होला। अहिले यही बसेर मासिक १ लाखभन्दा बढी कमाइरहेको छु,’ उनले भने।

भिमसेन आफू जस्तै वैदेशिक रोजगारीबाट फर्किएका नेपालीलाई आफ्नै काम गर्न सल्लाह दिन्छन्। अझ् जग्गाजमिन भएको पुस्तालाई आधुनिक खेती गर्न सुझाव दिने गरेका छन्। विदेशमा मात्र सबैथोक छ। नेपालमा केही छैन भन्ने मानसिकता त्याग्न पनि नयाँ पुस्तासँग अनुरोध गर्छन।

‘दत्तचित्त भएर लाग्यो भने यही देशमा सबै कुरा पाइन्छ,’ उनको अनुभव छ।