यूएईद्वारा भारतीय नागरिकमाथिको प्रवेश प्रतिबन्ध फुकुवा, नेपालीलाई यथावत

यूएईद्वारा भारतीय नागरिकमाथिको प्रवेश प्रतिबन्ध फुकुवा, नेपालीलाई यथावत

दुबई । यूएईले भारतीय नागरिकलाई आफ्नो देश प्रवेशमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।

दुबईको संकट तथा विपद् व्यवस्थापनको सुप्रिम कमिटीले केही नियमहरु संशोधन गरेर प्रतितिबन्ध फुकुवा गरेको हो।

यो नियम २३ जुन बुधबारदेखि लागू हुनेछ।

यूएईले भारतमा कोभिड संक्रमणको दोस्रो लहर व्यापक रुपमा फैलिएपछि गत २४ अप्रिलदेखि भारतीबाट हुने सम्पूर्ण उडानमा प्रतिबन्ध लगाएको थियो।

उसले भारतसँगै दक्षिण अफ्रिका र नाइजेरियाका नागरिकमाथिको प्रतिबन्ध पनि हटाएको छ।

नयाँ निर्णय अनुसार यी देशका नागरिकले तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर यूएईमा प्रवेश पाउनेछन्।

पछिल्ला दिनहरुमा यी देशमा कोभिड महामारी नियन्त्रणको संकेत देखिएसँगै यस्तो निर्णय लिएको यूएईले बताएको छ।

तर, भारतको छिमेकी देश नेपालमाथिको प्रतिबन्ध भने यथावत राखिएको छ । जबकी उसले भारतपछि मात्रै नेपालाई प्रतिबन्ध लगाएको थियो।

यूएईकोे सूचीमा नेपाल कोरोना संक्रमणको ‘उच्च जोखिम’ रहेको देशमा यथावत छ। उसले ७ जुलाइसम्म नेपाली यात्रुलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ।

भारतमाथि प्रतिबन्ध हटाउने उसको पछिल्लो निर्णयले नेपाली श्रमिकले पनि अब केही समयमा नै यूएई प्रवेश पाउने अपेक्षा गरिएको छ । यद्यपि, यो नेपालमा कोभिड महामारी नियन्त्रणको अवस्थामा निर्भर रहनेछ।

पालना गर्नुपर्ने मापदण्ड

यसरी यूएई प्रवेश गर्ने यात्रीहरुले पूर्णरुपमा कोभिडविरुद्धको खोप लगाएको हुनुपर्नेछ।

एयरलाइन्सको एक विज्ञप्ति अनुसार ‘यात्रीहरुले यहाँको संकट तथा विपद् व्यवस्थापन सुप्रिम कमिटीले तय गरेका पछिल्ला सुरक्षा मापदण्डहरु अनिवार्य पालना गर्नुपर्नेछ।’

सुप्रिम कमिटीले तय गरेका मापदण्ड अनुसार यूएई प्रवेश गर्ने यात्रीहरुले यात्रा सुरु हुनुभन्दा ४८ घन्टा भित्रको कोभिड ‘नेगेटिभ रिपोर्ट’ देखाउनु पर्नेछ। क्यूआर कोड प्राप्त पीसीआर परीक्षणको रिपोर्ट मात्र स्वीकृत हुने बताइएको छ। दुबईका नागरिकको हकमा भने यो नियम लागू हुने छैन।

त्यस्तै, सम्पूर्ण यात्रीले उडान सुरु हुनुभन्दा ४ घण्टा अगाडी अनिवार्य रुपमा ‘रेपिड’ परीक्षण गर्नुपर्ने समेत मापदण्डमा उल्लेख छ।

ती यात्रीले यूएईको विमानस्थलमा प्रस्थान गरेसँगै पुनः पीसीआर परीक्षण गर्नुपर्ने छ। पीसीआर परीक्षणको नतिजा नआउन्जेलसम्म यात्रीले संस्थागत क्वारेन्टाइनमा बस्नुपर्नेछ।

त्यसरी विमानस्थल प्रस्थानसँगै गरिएको पीसीआर परीक्षणको रिपोर्ट २४ घण्टाभित्र प्राप्त भइसक्ने बताइएको छ। यद्यपि, दुबईका नागरिक तथा कूटनीतिज्ञको हकमा भने यो नियम लागू हुने छैन।