कोभिडको तेस्रो लहर नआउने कतारको दावी

कोभिडको तेस्रो लहर नआउने कतारको दावी

दोहा । वैज्ञानिकले कोभिड–१९ को तेस्रो लहर आउने भन्दै चेतावनी दिएका छन् ।

तर,महामारीको तेस्रो लहर कतारमा नदेखिने दाबी गरिएको छ।

कोभिड–१९ राष्ट्रिय रणनीतिक समूहका अध्यक्ष एवं हमाद मेडिकल कर्पोरेशनका संक्रामक रोग विभागका प्रमुख डाक्टर अब्दुल्लातिफ अल–खालले ‘कतारमा प्रयोग भएका कोभिडविरुद्धका खोपहरु गुणस्तरीय र विश्वको सबैभन्दा उत्तम मध्येको भएकाले कोभिडको तेस्रो लहर देखा नपर्ने’ दावी गरेका छन्।

‘हामी कोभिडविरुद्धको लडाइमा विजयको बाटोमा छौं,’ कतार टेलिभिजनलाई अन्तरवार्ता दिँदै उनले भनेका छन्, ‘६० प्रतिशतलाई कोभिडविरुद्धको खोपको पहिलो मात्रा र ४६ प्रतिशतलाई दुबै मात्रा प्रदान गरिसकिएको छ।’

उनले कतारको वैधानिक जनसङ्ख्याको ४० प्रतिशतले अझै खोप प्राप्त गर्न बाँकी रहेकोले ८० देखि ९० प्रतिशतले खोप नलगाउँदासम्म कोभिडको संक्रमण फैलने डर भएको भन्दै सचेत रहन आग्रह समेत गरेका छन्। भाइरस उत्परिवर्तित स्वरुपको भएकोले यस्तो खतरा रहेको उनले बताएका छन् ।

त्यस्तै,उनले स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गर्दै, खोपको प्रभावकारिता र सुरक्षा पुष्टि भइसकेकाले सबै उमेर समूहका मानिसलाई खोप आग्रह गरेका छन् ।

खोपको सामान्य साइडइफेक्ट् हुन सक्ने र खोपको लागि कुनै ‘मेडिकल अब्जेक्सन’ नभएको बताइएको छ। यद्यपि, खोपको पहिलो मात्राबाट एलर्जी भएका व्यक्तिहरुलाई दोस्रो मात्रा लगाउन नहुने बताइएको छ । फाइँजर र मोडर्नाको पहिलो मात्रा लगाउँदा एलर्जीको दर एकदमै कम भएको समेत पाइएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कतारमा कोभिडको हालको अवस्था सुधारोन्मुख भएको पाइएको छ। दैनिक संक्रमण दर, ‘कोभिड पोजेटिभको’ संख्या, अस्पताल भर्ना तथा सघन उपचार आवश्यक पर्ने कोभिड बिरामीको दरको आधारमा कतार पुनः पहिलेको अवस्थामा फर्कन लागेको बताइएको छ।

कोभिडको दोस्रो लहर व्यापक रुपमा फैलन लागेलगत्तै लगाइएको प्रतिबन्ध तथा खोपलाई बिस्तार गरिएको कारणले महामारी नियन्त्रणमा सफलता मिलेको डा.अल खालले बताए।