वित्तिय साक्षारता नहुँदा कतारमा नेपालीको गैरकानूनी गतिविधि बढ्दोः राजदूत भारद्धाज

वित्तिय साक्षारता नहुँदा कतारमा नेपालीको गैरकानूनी गतिविधि बढ्दोः राजदूत भारद्धाज फाइल फोटो

काठमाडौं।नेपाली श्रमिकहरूको बाक्लो उपस्थिति रहेको कतारमा केही नेपालीको गैरकानुनी गतिविधि बढेपछि केही साताअघि मात्र कतार सरकारले चासो देखाएको थियो। यस सम्बन्धमा नेपाली दूतावासले भने कुनै प्रतिक्रिया जनाएको थिएन।

तर, शुक्रबार रोल्लिङ कर्माशील विदेशद्वारा जुममार्फत आयोजित ‘नेपाली आप्रवासीहरूका लागि वित्तीय साक्षारता र रिटर्नी आप्रवासी व्यवस्थापन’ अन्तरक्रिया कार्यक्रममा नेपाली राजदूत डा. नारदनाथ भारद्वाजले नेपालीहरूको गैरकानूनी गतिविधिको विषयमा मुख खोलेका छन्।

राजदूत भारद्धाजले नेपालबाट जाने श्रमिकमा वित्तिय साक्षारता कमजोर भएको बताउँदै भने, ‘केही नेपालीले गैरकानूनी कुराहरूमा लगानी गरिरहेका छन्।’

राजदूत भारद्धाजले कतारमा कमाएको पैसा वैधानिक च्यानलबाट भन्दा पनि हुण्डीमार्फत पठाउने क्रियाकलापले श्रमिकहरूको लगानी उच्च जोखिममा परेको बताए।

उनले कतारमा काम गर्न जाने नेपाली श्रमिकहरू वित्तिय तथा प्राविधिक कुरामा कमजोर भएको हुँदा समस्या आउने गरेको बताए। नेपालमा रेमिट्यान्स भित्र्याउने मामिलामा कतार दोस्रो देश मानिन्छ। यसैले श्रमिकको स्तरउन्नतीका लागि सरकारले ठोस योजना ल्याउनुपर्ने उनको भनाई थियो।

‘सरकार नयाँ प्रवद्र्धनकारी नीति ल्याउन जरुरी छ,’ उनले भने। कतारमा काम गर्न जाने नेपाली श्रमिकको शीप विकासमा सरकारले ध्यान दिएको खण्डमा यसले विश्व श्रम बजारमा राम्रो प्रभाव छोड्ने उनको भनाई थियो। कतारमा हाल ३ लाख ५० हजार नेपाली कार्यरत छन्।

डा. भारद्धाजले कतारलाई मध्यपूर्वको उदयमान आर्थिक शक्तिको रुपमा ब्याख्या गर्दै यसबाट देशले फाइदा लिनसक्नु पर्ने बताए।