कुवेत प्रवेशका लागि नेपाली श्रमिकले अझै डेढ महिना कुर्नुपर्ने

कुवेत प्रवेशका लागि नेपाली श्रमिकले अझै डेढ महिना कुर्नुपर्ने

कुवेत सिटी। नेपाली श्रमिकहरुले कुवेत प्रवेशका लागि झण्डै डेढ महिना कुर्नुपर्ने भएको छ।

कुवेत सरकारले १७ जुन, बिहीबार गरेका घोषणाअनुसार कोभिड भाइरसविरुद्ध खोपको पूर्ण डोज लगाएका नेपालीसहित अन्य देशका श्रमिकले १ अगस्टदेखि कुवेतमा प्रवेश पाउने छन्।

कुवेतमा हाल ७० हजारको हाराहारीमा नेपाली श्रमिक कार्यरत छन् भने घर बिदामा नेपाल फर्किएका श्रमिक ‘लकडाउन’ का कारण उतै अड्किएका छन्।

सरकारले फेब्रुअरीमा कोभिड महामारीको संक्रमण फैलिन नदिन तथा नियन्त्रणका लागि विदेशी नागरिकलाई कुवेत प्रवेशमा रोक लगाएको थियो। हाल कोभिडको जोखिम कम हुँदै गएको तथा कोभिडविरुद्ध लगाइएको खोपको प्रभावकारिता बढ्दै गएपछि प्रतिबन्ध विस्तारै खुकुलो पार्न लागिएको हो।

सरकारका प्रवक्ता तारेक अल-‘मिजरमका अनुसार विदेशी यात्रीले कुवेतमा स्वीकृत प्राप्त चारवटा खोप फाइजर/बायोन्टेक, अष्ट्राजेनेका, मोडर्ना एवम् जोन्सन् एन्ड जोन्सन् मध्ये कुनै एकको पूर्ण खोप लगाउनु पर्नेछ।

मिजरमले पत्रकार सम्मेलनमा कुवेत प्रवेश गर्ने यात्रीसँग यात्रा सुरु गर्नुभन्दा अधिकतम ७२ घण्टा पहिलेसम्मको पीसीआर परीक्षण गरिएको ‘नेगेटिभ रिपोट’साथमा हुनुपर्ने बताएका छन्। ती यात्रीले सात दिनको क्वारेन्टाइन अवधिभित्र अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने समेत बताएका छन्।



No ads found for this position