नेपालकी टिटी खेलाडी लण्डनको एरोविक टिटिको ‘ब्राण्ड एम्बेसडर’

नेपालकी टिटी खेलाडी लण्डनको एरोविक टिटिको ‘ब्राण्ड एम्बेसडर’

काठमाडौं। नेपालकी पूर्वअन्तर्राष्ट्रिय खेलाडी अनिता महर्जन नेपालका लागि लण्डनस्थित एरोविक टेबल टेनिसको ‘ब्राण्ड एम्बेसडर’ नियुक्त भएकी छिन्। एरोविकले महर्जनलाई ३ बर्षका लागि एम्बेसडरमा नियुक्त गरेको हो। एरोविकले महर्जनलाई पार्टनर, प्रमोटर र प्रशिक्षकको रुपमा चयन गरेको छ।

लण्डनस्थित एरोविक टेबल टेनिस २०११ मा स्टिभ रोले स्थापना गरेका हुन्। एरोविक टेबल टेनिस नवखेलाडीलाई एरोविकको माध्ययमबाट शारीरिक तन्दुरुस्त बनाउने कार्यक्रम हो। खेलाडीलाई एरोविकका माध्ययमले शारीरिक तन्दुरुस्त बनाउनुका साथै संगीतको धुनमा खेलाडीलाई वर्कआउट, फुटवर्क गराउने गरिन्छ। जसका कारण खेलाडीले आनन्द महशुस गर्दै क्यालोरी बर्न गर्ने, मुटु र फोक्सोलाई तन्दुरुस्त राख्ने र टेबल टेनिस खेलको पूर्णज्ञान र प्रशिक्षण प्राप्त गर्ने छन्।

टेबल टेनिसमा रिदम र टाईमिङ महत्वपूर्ण हुन्छ। यसलाई संगीतसँग तालमेल मिलाउन सके टेबल टेनिस सिक्न अझै मद्धत पुग्छ। एरोविक टेबल टेनिस उच्च ईनर्जी फिटनेश वर्कआउट र सामूहिक गठबन्धन हो।

१५ जुलाइमा एरोविक टेबल टेनिसका प्रमुख कार्यकारी स्टिभ नेपाल भ्रमणमा आउने र नेपाली खेलाडीलाई प्रशिक्षण प्रदान गर्ने कार्यक्रम छ। त्यस प्रशिक्षणमा उत्कृष्ट देखिएका ३ छात्र र ३ छात्रालाई लण्डनस्थित आफ्नो एकेडेमीमा प्रशिक्षणका लागि लैजाने सम्झौंता भएको महर्जनले जानकारी गराइन्।

एरोविकले खेलाडीका लागि टेबल टेनिसको स्तरिय ब्राण्ड बटरफ्लाइ कम्पनीको खेल पोशाक, र्याकेट र बल प्रायोजन गर्ने र प्रशिक्षणका लागि आवश्यक रोवोट मेसिनसमेत प्रदान गर्ने सम्झौंता भएको महर्जनले बताइन्।

अनिताले एकल प्रयासमा सामाखुसीस्थित आफ्नै घरमा १५ लाखको लागतमा एन्निज पिङ्ग पङ्ग क्लब स्थापना गरि बच्चाहरुलाई निस्शुल्क टेबल टेनिस प्रशिक्षण प्रदान गर्दै आइरहेकी छिन्।

नेपालमा टेबलटेनिसको विकास गर्ने उद्धेश्यले विगत १५ बर्षदेखि लागि परेकोमा ६ अप्रिल २०२१ विश्व टेबल टेनिस डेको अवसर पारी क्लब स्थापना गर्दै आफ्नो सपना साकार पारेकी छिन्। हाल क्लबमा तीन टेबल टेनिस बोर्ड रहेको छ भने १५ बालबालिकाले प्रशिक्षण लिइरहेका छन्।

ब्यक्तिगत रुपमा महिला उद्यमीको रुपमा उनको कार्यलाई नियाली रहेको अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघले उनको कार्यको मुल्याङ्कन गर्दै बिश्व टेबल टेनिस डेको अवसरमा आफ्नो जर्नलमा महर्जनको बारेमा लेख समेत प्रकाशित गरेको छ।

नेपाली खेलाडीलाई यति महत्व प्रदान गर्दै आफ्नो जर्नलमा लेख प्रकाशित गर्नुले बिश्व खेल जगतमा नेपाल र नेपालीको ईज्जत बढ्नुका साथै नेपालमा खेलकुदको विकास र विस्तारलाई नजिकबाट नियाल्दै उच्च महत्वमा राखेको देखिन्छ।