‘सीता’ को रोल गर्ने भएपछि करिना कपुरलाई बजरंग दलको धम्की

‘सीता’ को रोल गर्ने भएपछि करिना कपुरलाई बजरंग दलको धम्की

नयाँ दिल्ली। हिजोआज करिना कपुर र विवाद एकअर्काको पर्यावाची जस्तै बन्न थालेका छन्। करिनाले गर्ने कुनै पनि गतिविधिमा विवाद उठेकै हुन्छ। यस्तै, एउटा विवाद उनको नयाँ फिल्म ‘सीता’ लाई लिएर भएको छ।

हिन्दुवादी संगठनलाई करिना कपुरले ‘सीता’ को रोल गरेको फिटिक्क मन परेको छैन। नागपुरको बजरंग दलका कार्यकर्ताले करिनाविरूद्ध जिल्ला अधिकारी (सिडिओ) समक्ष ज्ञापन पत्र दर्ता गरेका छन्। जसमा भगवान सीताको नाममा बन्न लागेको फिल्ममा करिनाले रोल गरेको खण्डमा यसको जोडदार विरोध हुने जनाइएको छ। ज्ञापन पत्रमा करिनाको बिकिनी र मुस्लीमको ठूलो दरगाह अजमेर यात्राको फोटो समावेश गरिएको छ।

बजरंग दलका एक कार्यकर्ताले हिन्दु चरित्रमा मुस्लीम कलाकारले अभिनय गर्नु आपत्तिजनक भएको बताएका छन्। करिनाले शेफ अली खानसँग विवाह गरेपछि मुस्लीम धर्म अपनाएकी थिइन।

यसअघि पनि हिन्दु चरित्रलाई लिएर फिल्म बनेको र त्यसमा मुस्लीम कलाकारले अभिनय गर्दै हिन्दु भावनालाई होच्चाउन खोजिएको बजरंग दलको भनाइ छ।

निर्देशक अलौकिक देसाईले ‘सीता’ को मुख्य भूमिकामा करिना कपुरलाई अप्रोच गरेको खबर आएपछि विरोध सुरु भएको हो। बेबोले यो रोलका लागि १२ करोड रुपैयाँ माग गरेको विभिन्न मिडियामा खबर छापिएको थियो।

अहिले सोसल मिडियामा ह्यासट्याग बाइकट करिना खान ट्रेण्ड चलिरहेको छ। मिडिया रिपोर्टअनुसार ‘सीता’ फिल्ममा रावणको भूमिकामा रणवीर सिंहलाई अप्रोच भएको छ। ‘बाहुबली’ फिल्मका लेखक केवी विजयेन्द्र प्रसादले यो फिल्मको स्टोरी लेखेका हुन्। फिल्ममा आलिया भट्टको पनि चर्चा छ।