अफ्रिकामा रहेका नेपालीले देश विकासका लागि एक अर्ब रुपैयाँ भित्र्याउँदै

अफ्रिकामा रहेका नेपालीले देश विकासका लागि एक अर्ब रुपैयाँ भित्र्याउँदै

काठमाडौं। नेपालको उर्जा, कृषि, पूर्वाधार र अन्य क्षेत्रमा लगानी गर्न अफ्रिकामा रहेका गैर आवासीय नेपाली एकजुट भएका छन्। अफ्रिकामा लामो समयदेखि कार्यरत नेपालीहरूले एउटा कम्पनी स्थापना गर्दै देशमा एक अर्ब रुपैयाँ लगानी गर्ने भएका हुन्।

एनआरएन अफ्रिका भेन्चर्स लिमिटेड नाम दिइएको कम्पनीमा हाल अफ्रिकामा बसोबास गरिरहेका नेपाली मात्र नभएर त्यहाँबाट फर्किएका नेपालीको पनि सहभागिता रहने बताइएको छ। विस्तारै कम्पनीमा अन्य देशमा रहेका गैर आवासीय नेपाली पनि जोडिन पाउने छन्।

कम्पनीका अध्यक्ष हिक्कमत थापाले प्रवास खबरसँग कुराकानी गर्दै भने, ‘हामीले कम्पनीमार्फत कृषि, उर्जा, पूर्वाधार र आइटी लगायत योजनामा लगानीको लागि प्रारम्भिक कार्य शुरु गरिसकेका छौं।’

विदेशमा कार्यरत नेपालीलाई नेपालको समृद्धिमा जोडने गैर आवासीय नेपालीको क्रमवद्द प्रयास अफ्रिकाबाट संयुक्त रुपमा प्रारम्भ भएको हो।

‘यसले अफ्रिकामा बसेका नेपाली पनि नेपालको समृद्धिमा साझेदारी गरिरहेका छन् भन्ने देखिने छ। यसअघि यहाँका नेपालीले पूर्वाधार, उर्जा, स्वास्थ्य, उत्पादनमुलक उधोग र विविध क्षेत्रमा लगानी गरिरहेका थिए’, गैर आवासीय नेपाली संघका पूर्व केन्द्रीय कोषाध्यक्ष समेत रहेका थापाले प्रवास खबरलाई बताए।

कम्पनीमा लगभग सय जना नेपाली आबद्द भइसकेका छन्। ‘हामी अन्य महादेशका गैर आवासीय नेपाली र नेपालभित्र रहेका नेपालीलाई जोडेर हजार जनाको लगानी जुटाउने अभियानमा छौं,’ उनले भने। अफ्रिका भेन्चर्सका निर्देशक रोशन थापा हुन्। उनी भन्छन्, ‘कम नेपाली भएको महादेश र आर्थिकरुपमा अपेक्षाकृत रुपमा पछाडि रहेको अफ्रिका क्षेत्रबाट भएको यो प्रयासले अन्य क्षेत्र र देशमा बसेका नेपालीलाई पनि लगानी गर्न उत्प्रेरणा दिनेछ।’

काठमाडौंमा रहेका कम्पनीका अर्का निर्देशक दीपक कर्णले नेपालमा यसअघि छुट्टाछुट्टै रुपमा शुरु भएका अफ्रिकाका एनआरएनका ब्यवसाय र लगानीलाई पनि यसले जोडने र संयुक्त रुपमा अगाडी बढाउन सहजीकरण गर्ने बताए।